
बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुबारी खोला र दुम्कीबासस्थित विनयी खोलामा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग गएरातिदेखि ठप्प भएको छ । चोरमारा र दुम्कीबासमा निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
चोरमारा र दुम्कीबासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार रातिको वर्षाले बगाएपछि अहिले वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ ।अहिले चोरमारा र दुम्कीबास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।
चोरमाराको गिरुबारी खोला पुल गत वैशाख २९ गते र दुम्कीबास पुल गत पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिँदै आएका थिए । दुम्कीबासमा नयाँ पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने चोरमारामा पुरानै पुल मर्मत गरेर सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेको छ । डाइभर्सन बगाएको ठाउँमा नयाँ डाइभर्सन बनाउन आज दिनभर लाग्न सक्ने भएको भन्दै सडक डिभिजनले आज दिनभर यो बाटो भएर यात्रा नगर्न सूचना जारी गरेको छ ।
गएराति पानी परेसँगै आएको बाढीले दुम्कीबास र चोरमाराका दुवै स्थानको डाइभर्सन बगाएको छ ।