
प्रधानमन्त्री केपी ओलीले आफ्ना लागि आफैँले नेता छनोट गर्न पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताएका छन् ।
गणतन्त्र दिवस २०८२ को उपलक्ष्यमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मसम्मान सुरक्षित रहने गणतान्त्रिक व्यवस्थाको विकल्प अरू हुन नसक्ने बताए । गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी, पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले भने, ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलियो बनाउन लागेका छौँ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौँ ।’
उनले भने, ‘गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हुन् । लोकतान्त्रिक गणतन्त्र ‘जनताका लागि जनताद्वारा जनताको शासन प्रणाली’ हो । यसको मर्मअनुसार हाम्रो प्रणालीमा जनताले नै वडासदस्यदेखि राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्छन् । त्यसैले राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा छ ।’
प्रधानमन्त्री ओलीले अहिले जनताले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुनिने व्यवस्था रहेको स्पष्ट गरे ।
उनले भने, ‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकांकहरू कहाँ थिए, आज कहाँ पुग्यो । गणतन्त्र आउनुअघि मानव विकास सूचकांक कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाई सय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे । राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिबी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो । जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो । यी सबै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो,’ उनले भने, ‘आजको दिन, हाम्रा लागि विशेष दिन हो । वर्षाैँ लामो संघर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र हामी सबैको अथक मिहिनेतबाट ०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हाे । त्यस ऐतिहासिक दिनको सम्झनामा आज हामी गणतन्त्र दिवस मनाइरहेका छौँ । गणतन्त्र हामीले प्राप्त गरेका होइनौँ, आर्जन गरेका हौँ- हजारौँ जनताको बलिदानबाट र त्यागबाट । मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ । हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण दिवसको मूल्य हामीले कहिल्यै बिर्सनुहुँदैन, बिर्सनेछैनौँ ।’