१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Friday, 30 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ जेठ १४ बुधबार १८:३६:oo
Read Time : > 1 मिनेट
समाचार

चुरे क्षेत्रको क्षयीकरण रोक्न जैविक तटबन्ध निर्माण 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १८:३६:oo

चुरे क्षेत्रको भूमि क्षयीकरण रोक्नका लागि कञ्चनपुरका विभिन्न नदी, खोलानालामा जैविक र तारजालीका तटबन्ध निर्माण गरिएको छ। जिल्लाको भीमदत्त र बेदकोट नगरका विभिन्न खोला नदीनालाहरूमा जैविकदेखि तारजालीका तटबन्ध निर्माण गरिएका हुन्।

स्थानीय सरकार, समुदाय र चुरे संरक्षण सञ्जाल नेपालको संयुक्त लगानीमा तटबन्ध निर्माण गरिएको जनाएको छ। चुरे संरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले जोखिमयुक्त नदीखोला नालाहरूमा तटबन्ध निर्माण गरिएको बताए। उनका अनुसार बेदकोट नगरपालिका–१, रडाहको राधा नदी, बेदकोट–६, मुसेपानीको निकास नाला र भीमदत्त नगरपालिका–७, केराबारी शिवटोल खन्यखोलाको भंगालो नालामा तटबन्ध निर्माण गरिएको छ। 

राधा नदीमा ७२ मिटर जैविकसहित ढुंगाको तारजाली निर्माण गरिएको छ । निकास नालामा ४२ मिटर र खन्यखोलामा ३१ मिटर तटबन्ध निर्माण गरिएको छ। 

राधा नदी तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर विष्टले नदीको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ बस्ती भएकाले तटबन्ध आवश्यक रहेको बताए। ‘हरेक बर्सेनि नदीले कटानी गरेपछि हामी जोखिममा पर्दै आएका छौँ,’ उनले भने, ‘तटबन्धले केही कटानी नियन्त्रण हुने अपेक्षा गरेका छौँ।’ 

भीमदत्त नगरपालिका–७, केराबारी शिवटोल खन्यखोला तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर कुँवर(बाबाटाइगर)ले तटबन्धले केही उर्वराभूमि संरक्षण हुने बताए। उनले यो न्यून भएकाले सरकारी निकायबाट थप तटबन्धका कार्यक्रम सञ्चालनमा जोड दिएका छन्। बेदकोट नगरपालिका–१ का वडाध्यक्ष भण्डारीले संयुक्त साझेदारीमा सञ्चालित तटबन्धका योजनाले केही राहत पुग्ने बताए। ‘हामीसँग ठुलो परिमाणमा बजेट हुँदैन,’ उनले भने, ‘यस्तै, संघ संस्थाहरूमार्फत सहयोग गर्दै आएका छौँ।’ चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रवीन्द्र कुँवरले चुरे भएर बग्ने नदीखोला नालाको चुरे तटीय क्षेत्रमा निम्तिने जोखिम न्यूनीकरणका लागि तटबन्धका कार्यक्रम सञ्चालन गरिएको बताए।

अध्यक्ष कुँवरले पश्चिम तराई भूपरिधि कार्यक्रममार्फत भूक्षयीकरण रोक्ने कार्यक्रम सञ्चालन भएको बताए। ‘विगतका वर्षहरूमा पनि हामीले चुरे संरक्षणका कार्यक्रम सञ्चालन गरेका थियौँ,’ उनले भने, ‘यस वर्ष पनि गरेका छौँ, जनताबाट थुप्रै माग आएको छ, हामीले स्थानीय सरकारसहितका सरोकारवालालाई अनुगमन पनि गराएर आगामी वर्षमा बजेट थप्न आग्रह गरेका छौँ।’