१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Thursday, 29 May, 2025
२o८२ जेठ १४ बुधबार १४:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नदीआश्रित समुदायको वैकल्पिक पेसा बन्दै नेचर गाइड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १४:१o:oo

नवलपुरको अमलटारी, दिव्यपुरीलगायतका क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जंगल सफारी जाने पर्यटकहरूको वृद्धि भएसँगै नवलपुरका युवा ‘नेचर गाइड’ पेसाप्रति आकर्षित हुन थालेका छन्।

राम्रो समूह पाए र बाह्य पर्यटकको गाइड हुन पाए पारिश्रमिकका अलावा ‘टिप्स’ पनि पाइने भएकाले यहाँ नेचरगाइडप्रति युवा पुस्ताको आकर्षण बढ्दो छ। पर्यटकहरूसँगै घुम्न पनि पाइने र आम्दानी पनि हुने यो पेसा पछिल्लो समय व्यावसायिकसमेत बन्दै गएको छ।

गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्रालय, चितवन राष्ट्रिय निकुञ्ज र ताल परियोजनाको संयुक्त सहयोगमा माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरको आयोजनामा कावासोती– १५, अमलटारीमा सञ्चालित नेचर गाइड तालिममा कावासोती, देवचुली, मध्यविन्दुलगायतका क्षेत्रका युवा पुस्ताको सहभागिता छ।

४१ जना सहभागी तालिम जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, पर्यटन तथा उद्योग मन्त्रालयका सचिव तथा कर्मचारीहरू, निकुञ्जका कर्मचारीहरूको सहभागितामा समापन गरिएको छ। तालिममा सहभागी कावासोती– १५, बागखोरकी १९ वर्षीया सुजिता बोटेले नेचर गाइड तालिममा सहभागी भएपछि आफूहरूले निकुञ्ज र पर्या–पर्यटनबारे जान्ने अवसर पाएको र यसले नदीमा आश्रित समुदायको युवालाई नेपालको जैविक विविधता संरक्षण र पर्या–पर्यटन प्रवर्द्धनमा लाग्न प्रेरणा मिलेको बताइन्।

तालिममा विशेष गरी नारायणी नदी र निकुञ्जमा आश्रित बोटे, माझी, मुसहर, थारू समुदायका युवायुवतीको सहभागिता रहेको ज्ञानबहादुर बोटेले बताए। तालिममा युवाभन्दा युवतीहरूको सहभागिता बढी छ। सरकारले जंगल सफारी गर्दा एउटा समूहमा एकजना नेचर गाइड अनिवार्य गरेसँगै अहिले नेचर गाइडमा रोजगारीका अवसर पनि बढेको ज्ञानबहादुरले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरू आउने क्रम बढेसँगै नेचर गाइडको भविष्य पनि उज्ज्वल रहेको कावासोती– १५ मा सञ्चालित अमलटारी होम स्टे भिलेजका अध्यक्ष प्रेमशंकर मर्दनिया बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आउने क्रम बढेसँगै निकुञ्जआसपास रहेका नवलपुर चितवनका होटेल, होम स्टेलगायतबाट स्थानीयको जीवनस्तर उकासिएको छ भने जंगल सफारीबाट पनि निकुञ्जआसपासका बासिन्दामा रोजगारीको अवसर बढेको छ।

कावासोतीकी नेचर गाइडकी प्रशिक्षार्थी १९ वर्षीया गंगा महतोले नेचर गाइडले नेपालको पर्यटकीय क्षेत्रबारे नेपालीलाई मात्र जानकारी गराउने नभएर विदेशबाट आएका पर्यटकहरूलाई पनि जानकारी गराउन सक्ने पेसा भएकाले युवा पुस्ताका लागि निक्कै उपयोगी भएको बताइन्।