
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ । यही जेठ १३ गते मंगलबारदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।
मेला यही जेठ २४ गते एकादशीसम्म सञ्चालन हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यस वर्ष दशहरा पर्वमा पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा समितिले राखेको छ ।
जिल्लाको उच्च भागमा अवस्थित समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौंदेखि धुन्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरु हुने र तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
गंगादशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज (आइतबार) बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ ।
धार्मिक मान्यताअनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन् ।
विशेष पर्व गंगादशहरामा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ ।
बाह्रै महिना भक्तजन आवतजावत भने हुँदै आएको छ । यात्रुहरूको वासस्थानका लागि ठाउँठाउँमा होटेल सञ्चालनमा छन् ।
अनुपम प्राकृतिक छटाले गर्दा कुण्डमा जान सहज भएको कृषि वैज्ञानिक डा. ताराबहादुर घिमिरेले बताए ।