१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
फ्रेन्ड्स क्लबको ५३औँ वार्षिकोत्सवमा बोल्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ । तस्बिर सौजन्य : सरोज सापकोटा
रमेश सुवेदी काठमाडाैं
२o८२ जेठ ११ आइतबार o९:१३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ‘ए’ डिभिजन लिग : सरकारसँग एन्फाको पाँच करोड माग

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार o९:१३:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नेपाल सरकारसँग पाँच करोड माग गरेको छ । शनिबार शीर्ष डिभिजन क्लब फ्रेन्ड्सको ५३औँ वार्षिकोत्सवमा बोल्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले लिग आयोजना गर्न १० देखि १२ करोड खर्च हुने बताउँदै सरकारसँग पाँच करोड माग गरेका हुन् । 

अध्यक्ष नेम्वाङले भने, ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गर्न १० देखि १२ करोड खर्च लाग्छ । सरकारले पाँच करोड छुट्याउँछ भन्ने विश्वास लाग्छ ।’ नेम्वाङले अहिले दिँदै आएको २५ लाखबाट एक करोड मात्रै बढाएपछि त्यो अपुग हुने बताएका छन् । ‘सरकारले १ करोड दिए पनि त्यतिले पुग्दै छ ।’ 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी पनि उपस्थित थिए । नेम्वाङअघि बोल्दै मन्त्री चौधरीले एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । मन्त्री चौधरीले यसपटक लिग गर्न पैसा बढाउने योजना भएको पनि सुनाए । तर, एन्फाभित्रको राजनीतिले भने अर्काेपटक फ्रिज हुनेमा शंका पनि गरेका छन् । ‘लिग गराएन भने एन्फालाई दिएको पैसा फ्रिज हुन्छ । पछिल्लोपटक लिग नभएपछि पैसा लिनुभएको छैन,’ मन्त्री चौधरीले भने । 

६ असार २०७९ मा नेम्वाङ निर्वाचित भएयता पहिलापटक डिभिजन लिगको साइकल पूरा भएको छ । उनी एन्फा आएको तेस्रो वर्ष हुँदै लाग्दा डिभिजन लिग पनि तेस्रोपटक सम्पन्न हुने बाटोमा हुनुपर्ने थियो । तर, शुक्रबार मात्रै प्लानिङ ब्वाइज र श्री भगवती क्लब ‘बी’ डिभिजन लिग च्याम्पियन हुँदै शीर्ष डिभिजनमा बढुवा भएपछि डिभिजन लिगको साइकल पूरा भयो । 

त्यसअघि ‘सी’ डिभिजन लिग सम्पन्न भएको थियो । १९ फागुन २०७९ देखि २७ जेठ ०८० सम्म भएको ‘ए’ डिभिजन लिगको विवाद समाधान नहुँदा कुन टिम रेलिगेसन भएको टुंगो अझै लाग्न सकेको छैन । थ्रीस्टारले श्रम स्वीकृति र भिसाविना विदेशी खेलाडी मैदान उतारेको भन्दै एपिएफ क्लबले उजुरी गरेको छ । त्यसपछि एन्फाले थ्री स्टारलाई तीन लाख तथा दुई विदेशी खेलाडीलाई समान ५० हजार जरिवाना गरेपछि यो मुद्दा एन्फाकै अपिल कमिटीमा पुगेको छ । तर, दुई वर्ष बितिसक्दा पनि मुद्दाको किनारा लागेको छैन । 

लिग नियमित गर्न नसकेको स्वीकार
एन्फा अध्यक्ष नेम्वाङले ‘ए’ डिभिजन लिग नियमित गर्न नसकेको स्वीकार गरेका छन् । उनले विवाद हुँदा ‘बी’ डिभिजन लिग समयमै गर्न नसकेको पनि सुनाए । ‘हो, लिगको साइकल पूरा नहुँदा ‘ए’ डिभिजन हामीले नियमित गर्न नसकेकै हौँ,’ उनले भने, ‘पछिल्लोपटक ‘ए’ डिभिजन लिग गर्यौैँ  । त्यहाँबाट ‘बी’ डिभिजन लिग गर्नेभन्दा समयमा हुन सकेन । त्यसपछि ‘सी’ डिभिजन गर्यौैँ ।’ 

एन्फा नेतृत्वमा आएको पहिलो वर्षमै नेम्वाङले ‘ए’ डिभिजन लिग आयोजना गरेका थिए । तर, क्लबलाई तयारी खर्च नदिएको, क्लब तयार हुँदा पनि लिग आयोजना नगरेको, सहभागी हुने क्लबलाई कारबाही गरेको भन्दै लिग हुनै सकेन । एन्फाले तीन वर्षपछि ‘बी’ डिभिजन लिग आयोजना गरेको थियो । यसैबिच एन्फाले धुलिखेलमा भएको साधारणसभाबाट सहिद स्मारक ए डिभिजन लिग पुसबाट गर्ने निर्णय गरेको छ । 

फिफाको अनुदान नै डेड अर्बमाथि
एन्फा अध्यक्ष नेम्वाङले सरकारसँग लिग आयोजना गर्न पाँच करोड माग गरिरहँदा फिफाले नै एन्फालाई सन् २०२५ का‌ लागि एक अर्ब ५६ करोड ३२ लाख नौ हजार चार सय ५० रुपैयाँ अनुदान दिएको छ । पछिल्लो वर्षमा एन्फाले सबै कार्यक्रम फिफाकै बजेटमा आयोजना गरिरहेको छ । सरकारले बर्सेनि दिँदै आएको पुरस्कारबापत महिला र पुरुष टिमको समान २५ लाखसमेत एन्फाले लिएको छैन । एन्फालाई यस वर्ष नै फिफाले गतवर्षको भन्दा बढी अनुदान दिएको छ । अघिल्लो वर्ष फिफाबाट प्राप्त अनुदानमध्ये पूर्वाधारतर्फको ४७ करोड ७६ लाख ७१ हजार पाँच सय ४२ रुपैयाँ बजेट यसपटकलाई सारिएको छ । गत वर्षको फिफा र एएफसीको भौतिक पूर्वाधारको खर्च गर्न नसकेको बजेटलाई यो वर्ष निरन्तरता दिएको र सो बजेटसमेत जोडिँदा बजेटको आकार ठुलो भएको प्रवक्ता सुरेश शाहले धुलिखेल साधारणसभामै बताएका थिए । अघिल्लो आर्थिक वर्षमा एन्फाको बजेट एक अर्ब ३२ करोड रुपैयाँ हाराहारीको थियो ।