१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार २१:१६:oo
Read Time : > 1 मिनेट
समाचार

खोटेहाङ र जन्तेढुंगा जोड्ने सावाखोलाको पक्की पुल सञ्चालनमा

पक्की पुल सञ्चालनमा आएपछि बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार २१:१६:oo

खोटेहाङ र जन्तेढुंगा गाउँपालिकाको सिमानामा पर्ने सावाखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ससर्त अनुदानअन्तर्गत आठ करोड २१ लाख ७२ हजार ८९४ लागतमा निर्माण गरिएको सावाखोलाको पक्की पुल शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । 

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सिमानामा अवस्थित सावाखोलाको भानुमती घाटमा निर्माण गरिएको ४१ दशमलव ४० लम्बाई  तथा ८ दशमलव ४० मिटर चौडाइको मोटरेबल पक्की पुलको शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । 
खोटाङबजार–चिसापानी सडक निर्माण गरेर सञ्चालनमा आएको लामो समयसम्म पक्की पुल अभावमा यातायात अवरुद्धको समस्या खेप्दै आएका दक्षिणी क्षेत्रका स्थानीयवासी सावाखोलामा मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि हर्षित भएका छन् ।

पुल उद्घाटन गर्दै मन्त्री राईले खोटाङको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विकासका कामलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताए । मन्त्री राईले दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण सुरु गरिएको जानकारी दिए । 

सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई झर्न र जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र इलाका प्रशासन कार्यालय खोटाङबजार आवतजावत गर्न सहज भएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिएका छन् । 

सावाखोलाको मोटरेबल पक्की पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ११ वैशाख ०८० मा निर्माण कम्पनीले सडक विभागसँग सम्झौता गरेर निर्माण सुरु गरेको थियो ।

जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वी तराई जोड्ने सडकखण्डमा निर्माण गरिएको मोटरेबल पक्की पुलको दुबैतर्फ १ दशमलव २० मिटरको फुटपाथसमेत निर्माण गरिएको छ । पुलमा यातायात डुडिरहेको समयमा समेत सर्वसाधारणलाई पैदल गर्न मिल्नेगरी फुटपाथ निर्माण गरिएको निर्माण कम्पनीका सञ्चलक महेश रेग्मीले जानकारी दिए । 

हिउँदको समयमा करिब ६ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको खोटाङबजार–चिसापानी सडकखण्डको सावाखोलामा पक्की पुल सञ्चालनमा आएपछि बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी गरिएको यातायात व्यवसायीहरूले बताएका छन् ।