
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ।
विगतमा सांसद रमेश लेखकले सदनमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भन्ने गरेको र अहिले आफैँमाथि प्रश्न उठेकोमा यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर उनीमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धानलाई सघाउन रास्वपाले माग गरेको हो। साथै, यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि रास्वपाले सुझाव दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक भर्चुअल बैठकपछि जारी विज्ञप्तिमा यस्तो माग गरिएको छ।
यस्तै, बैठकले रास्वपाको सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गर्ने निर्णय पनि गरेको छ। तर, सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐनअनुसार हेरिनुपर्ने मुद्दालाई जबर्जस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशंकाको यथेष्ट सम्भावना रहेकोमा सरोकार र चिन्ता रहेको जनाएको छ। राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त भएको जारी विज्ञप्तिमा उल्लेख छ।