
गत १५ चैतमा तीनकुने प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटसँग सम्बन्धित अनुसन्धान पूरा गरी प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
घटनामा संलग्न ६१ जनालाई प्रतिवादी बनाउने प्रहरी सिफारिस छ । प्रहरी प्रतिवेदनअनुसार अब आइतबार मुद्दा दायर हुने भएको छ ।
उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, ज्यान मार्ने र ज्यान मार्ने उद्योगअन्तर्गतका चार कसुर लगाउने तयारी छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेले प्रहरीको प्रतिवेदन प्राप्त भएको र आइतबार अदालतमा मुद्दा दर्ता गरिने बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौैंले गत १५ चैतदेखि नै घटनाको अनुसन्धान गर्दै आएको छ । घटनामा हालसम्म १७० भन्दा धेरै पक्राउ परेका थिए । जसमध्ये ५३ अभियुक्त प्रहरी हिरासतमै छन् । उनीहरूविरुद्ध बिहीबार मात्रै दुई दिनको म्याद थप भएको थियो ।
गत १५ चैतमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गरेको प्रदर्शन हिंसा, तोडफोड, आगजनी र लुटपाटमा परिणत भएको थियो । दुईजनाले ज्यानसमेत गुमाएका थिए ।
तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंलाई मुख्य प्रतिवादी बनाउन लागिएको छ।