१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
नयाँ पत्रिका स्याङ्जा
Invalid date format १४:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

पाल्पा र स्याङ्जाको संगमस्थलका रूपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रूपमा समेत विकसित हुँदै छ ।

धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरूको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रूपमा परिचित रामनदीको ऐतिहासिक महत्त्व रहेकोे छ ।

स्याङ्जाको गल्याङ नगरपालिका– १ मा अवस्थित पवित्रस्थल राम्दीधाममा बर्सेनि हजारौँ भक्तजन आई नाचगान, पूजापाठ, आराधना गर्नेक्रम बढेसँगै यो ठाउँ धार्मिक गन्तव्यका रूपमा परिचित हुन थालेको रामनदी धाम संस्कृत गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताए ।

दैनिक पूजापाठका अतिरिक्त पाल्पा, स्याङ्जा, बागलुङ, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरूबाट समेत शवदहनका लागि कालीगण्डकी नदीतटस्थित पवित्र धार्मिक स्थल रामनदी धाममा ल्याइनेक्रम बढेको छ ।

कालीगण्डकी नदीलाई तीर्थको प्रतीकका रूपमा मानिएको, परापूर्वकालदेखि नै शवदहनस्थलका रूपमा प्रयोग गरिँदै आएको सो घाटमा अहिले दैनिक करिब ३० वटा शव जलाउने गरिएको छ । स्थानीयका अनुसार सिद्धार्थ राजमार्गको छेउमा पर्ने रामनदी धाममा २०१५ सालबाट नियमित घाटका रूपमा शवदहन गरिँदै आएको र पछिल्लो समय अन्त्येष्टि गरिनेको संख्या वृद्धि भएको छ ।

यसरी शव जलाउन ल्याउनेको संख्या वृद्धि भएसँगै नियमित सरसफाइको अभावका कारण वातावरणीय समस्या सिर्जना भएको महसुस गरी स्थानीय वडा तथा पालिकाले घाट सरसफाइमा ध्यान दिएको स्पष्ट गरेको छ ।

शव जलाउँदा निस्कने धुवाँको कारण रामनदी क्षेत्रको वातावरण प्रभावित भएकोे र कालीगण्डकी नदीको जलसमेत प्रदूषित भएको भन्ने गुनासो आउने गरेको बताउँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रामनदीलाई व्यवस्थित, वातावरणमैत्री र पर्यटकीयस्थलका रूपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग अनुरोध गरेकाले अब काम अघि बढ्ने विश्वास व्यक्त गरे ।

भरामनदीमा शवदहन गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख भट्टराईले नदी किनारसम्म जाने बाटो पक्की बनाउन, खानेपानीसहित शौचालयको व्यवस्था गर्न, प्रतीक्षालय निर्माण गर्न पालिकाका तर्फबाट काम भइरहेको स्पष्ट गरे ।

विधिपूर्वक शव जलाइसकेपछि नदी किनारमा छरपष्ट छाडिने पानीका बोतल, कपडा र अन्य फोहोरजन्य सामग्रीले पानी प्रदूषित हुने गरेकाले न्यूनतम सरसफाइमा ध्यान दिन पालिकाले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

यसैगरी, वर्षायामको समयमा नदीको बहाव बढ्दै जाँदा शव जलाउन कठिन हुने गरेको र कहिलेकाहीँ जलाउँदै गर्दा शवसमेत बगाउने गरेको दुखेसो मृतकका आफन्त तथा मलामीबाट गुनासो आउने स्थानीयको भनाइ छ ।

नगरप्रमुख भट्टराईले रामनदी धाममा उपयुक्त स्नानस्थल, व्यवस्थित शवदाहस्थल, किरियापुत्री भवन, शौचालय, खानेपानी समेटेर बृहत् योजना पेस गरेको र आगामी आर्थिक वर्ष ०८२/८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट समेत बजेटको प्रबन्ध गर्ने आश्वासन प्राप्त भएकाले अब छिट्टै राम्दीले मुहार फर्ने र समग्र समस्या समाधान हुने बताए ।

रामनदी घाटस्थित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुरुकुलका प्रधानाध्यापक बस्याल कालीगण्डकी नदी तटमा रहेको पवित्रस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन र शव दहनसहित घाट व्यवस्थापनमा सरोकार भएका सबैको ध्यान जानुपर्ने बताउँछन् । रासस