
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई यही वैशाख १७ गते गिरफ्तार गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।
सांसद कान्तिका सेजुवालले तीन महिनादेखि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा अलपत्र परेका मुगुको छायानाथ नगरपालिका– १४ सुम्ली गाउँका २६ वर्षीय दीपराज भण्डारीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनी रोजगारीको सिलसिलामा एक वर्षअघि दुबई गएका थिए ।
यस्तै, सांसद ठाकुरप्रसाद गैरेले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न सरकारसँग माग गरे ।
सांसद पूर्णबहादुर घर्ती मगरले जिल्ला सदरमुकामका निम्ति विनियोजन गरेको बजेट खर्च हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । यसैगरी सांसद मनीष झाले मन्त्रिपरिषदमा महिलाको सहभागिता बढाउन माग गरे । रासस