
विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान हेटौँडा- ६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७-० गोलले हराउँदै पुलिस उपाधिनजिक पुगेको हो ।
पुलिसको जितमा मीना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरे । देउवाले खेलको २१औँ, ४०औँ र ५९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने उपाध्यायले ३४, ६६ र ८०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
पुलिसको लागि थप एक गोल ४५औँ मिनेटमा सुष्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दी म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।
फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र संकटा क्लबबिचको विजेतासँग भिड्नेछन् ।
एपिएफ र संकटाबिचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।