
वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण एवं समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायको खोजी गर्न एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा भेला भएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ कार्यशालासहितको बैठकमा सहभागी हुन उनीहरू पोखरामा भेला भएका हुन् ।
नेपालका ४० र अन्य २२ देशका ६६ जना हवाई तथा नागरिक उडडयन विशेषज्ञ एवं सरकारी अधिकारीहरूको सहभागिता रहेको कार्यशालासहितको बैठक २६ वैशाखसम्म चल्नेछ । बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण एवं समाधानसँगै उड्डयन क्षेत्रलाई कसरी सुरक्षित बनाउने, यस क्षेत्रको विद्यमान जोखिमको समाधानका उपायको खोजीमा केन्द्रित रहनेछ ।
बैठकको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा सरकार लागेको जानकारी दिए । हवाई यात्रालाई सुरक्षित बनाउन विद्यमान जोखिमको न्यूनीकरणमा सरकार लागेको उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक रहेको बताए । राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै आकाशलाई सुरक्षित बनाउन सकिने भनाइ आचार्यको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशहरूमा जोड्न सकिने सम्भावनाको खोजी गर्न सहभागीलाई मेयर आचार्यले आग्रहसमेत गरेका थिए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मञ्जित सिंहले हवाई सेवालाई सबैको पहुँचमा पु¥याउँदै यसका विद्यमान जोखिमको समाधानमा ध्यानकेन्द्रित गर्नु अहिलेको आवश्यकता रहेको बताए ।