
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन् ।
सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसदबाट प्रचण्डले यस्तो बताएका हुन् ।
‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुईतिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् ।
हरेक नियुक्ति र निर्णयमा स्वार्थ समूह नै हाबी भएको आरोप लगाउँदै उनले भने, ‘जनताले सेवाप्रवाह सहज रूपमा पाउन सकेका छैनन् । सार्वजनिक संस्थानमा चरम राजनीतीकरण भइरहेका छन् ।’ प्राविधिक रूपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मनमस्तिष्कमा सरकार ढलेजस्तो भएको उनले बताए ।