१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
२o८२ बैशाख २२ सोमबार १o:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १o:३८:oo

यहाँका पहाडी गाउँघरमा केही वर्ष अघिसम्म बाटैभरि पाटी, पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत–वैशाखमा घैँटोमा खुदो पानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । 

तर, अब ती इतिहास भइसके । कहीँ कतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्त्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् । 

दोर्दी गाउँपालिका– ३ श्रीमञ्जाङका ८२ वर्षीय बुद्धिमान श्रेष्ठले भने, ‘केही वर्ष अघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्मकर्ममा बढी आस्था राख्ने चलन थियो, तर अहिले गाउँगाउँमा मोटरबाटो आयो, पहिला मेलापात होस् वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र घैँटोमा पानी राख्ने चलन लोप भयो ।’

चैत–वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ, बटुवाले खाओस् भनेर घैँटोमा सक्नेले मह, खुदो, नसक्नले पानी राख्ने चलन अब नरहेको राईनास नगरपालिका–८ हर्राबोटकी युनिता गुरुङ बताउँछिन् । 

मर्स्याङ्दी गाउँपालिका– ३ खुदीका रामबहादुर कार्कीले भने, ‘चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे, तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्म घडा’ राख्ने चलन हरायो ।’ भएका चौतारीको पनि संरक्षण हुन छाडेको उनी बताउँछन् । 

परम्परागत चलन संरक्षण गर्न बेँसीसहर नगरपालिका– ११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राखेका छन्  । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको दवाडीको भनाइ छ ।