
नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रस्टी)ले नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की र रजिस्ट्रारमा डा. सूर्यराज आचार्यलाई नियुक्त गरेको छ। नेपाल विश्वविद्यालय ऐन, ०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा परिषद्ले उनीहरूलाई उपकुलपति र रजिस्ट्रारमा नियुक्त गरेको हो।
सार्वजनिक सूचनामार्फत प्राप्त आवेदनहरूमध्येबाट सिफारिस समितिले योग्य उम्मेदवारहरूलाई संक्षिप्त सूचीमा समावेश गरी कार्यपत्र प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न गरेको थियो। सोही आधारमा समितिले सर्वोत्कृष्ट उम्मेदवारको नाम सिफारिस गरेको हो।
उपकुलपतिमा नियुक्त कार्की वरिष्ठ चिकित्सक तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुन् भने रजिस्ट्रारमा नियुक्त डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विकासविज्ञ हुन्।
०८१ कात्तिकमा संघीय संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपाल विश्वविद्यालय ऐन, ०८१ अनुसार विश्वविद्यालयको उच्च शासकीय निकाय संरक्षक परिषद् रहने व्यवस्था छ। कुलपतिको छनोट संरक्षक परिषद्का सदस्यहरूमध्येबाट संरक्षक परिषद्ले गर्ने प्रावधानअनुसार यसअघि नै परिषद्ले एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनीलाई विश्वविद्यालयको पहिलो कुलपति छनोट गरिसकेको छ।
नेपाल विश्वविद्यालयका संरक्षक परिषद्का पदेनबाहेकका अन्य सदस्यमा डा. राममनोहर श्रेष्ठ, डा. शिवा थापा, डा. जगदीशचन्द्र पोखरेल, डा. विपिन अधिकारी, डा. विमला राई पौड्याल, लक्ष्मीदेवी पाण्डे, ई. लालकृष्ण केसी, माधवप्रसाद पौडेल, रामेश्वर खनाल र चाँदनी जोशी रहेका छन्।
अन्तरविधात्मक अवधारणाअनुसार विविध संकायमा उच्च शिक्षाको अध्ययन हुने सार्वजनिक तथा गैरनाफामूलक प्रकृतिको नेपाल विश्वविद्यालयले उच्च गुणस्तरीय अनुसन्धानमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्दै सक्षम, जिम्मेवार, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी राष्ट्र निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।