
नेकपा एमालेले दलभित्रका समस्यालाई आन्तरिक रूपमै समाधान गर्नुपर्ने बताएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले दलभित्रका समस्यालाई राष्ट्रिय राजनीतिमा बिसाए, त्यसले राम्रो नगर्ने निष्कर्ष निकालेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्रका समस्याहरूको समाधान राष्ट्रिय राजनीतिसँग जोडेर खोज्न नहुने बताए।
‘दलहरूभित्र आन्तरिक समस्या हुन सक्छन्। तर, त्यसलाई राष्ट्रिय राजनीतिमा बिसाउन हुँदैन। दलभित्रका समस्या आफ्नो ठाउँमा होलान्। हाम्रो पार्टीभित्र केही समस्या छ भने त्यो समाधान गर्ने दायित्व हाम्रो हो। अरू पार्टीहरूसँग त्यो समस्या छ भने उहाँहरूले समाधान गर्ने हो,’ उनले भने, ‘तर, पार्टीभित्रका समस्याहरू यदि राष्ट्रिय राजनीतिमा जोडिन थाले, अथवा त्यहाँ गएर समाधान खोज्न थालियो, अथवा त्यहाँभित्रको समस्यालाई अन्यत्र पोख्न थालियो भने त्यसले राम्रो गर्दैन भन्ने हाम्रो निष्कर्ष हो।’