१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
२o८२ बैशाख २१ आइतबार १३:४८:oo
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

‘हाइइन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १३:४८:oo

चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरूको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरू मेघौली हुँदै जंगलभित्रका आरामदायी रिसोर्टहरूमा पुग्थे। जंगलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो। पर्यटन क्षेत्रका लागि ‘हाइइन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्‍याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो ।

काठमाडौंबाट हेलिकाेप्टर तथा ट्विनअटर विमानबाट उनीहरू मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जंगल प्रवेश गर्दथे । जानकारहरूका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे । अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ ।

टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले पाँच सय अमेरिकी डलरसम्म तिर्दथे । वि.सं. २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गरेका थिए भने ०२८ सालमा बेलायती नागरिक जिम एवर्डसले खरिद गरी सञ्चालन गरेका थिए । पर्यटकहरू टाइगर टप्समा बस्ने र मेघौलीको जंगली जनावरको सिकार गर्दथे । टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरू आएका थिए ।

वि.सं. २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए । तर, २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए । अहिले टाइगर टप्स मात्रै होइन, निकुञ्जभित्र सञ्चालनमा रहेका मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट, टेम्पल टाइगर रिसोर्ट, गैँडा वाइल्ड लाइफ क्याम्प बन्द भएका छन् । टाइगर टप्सले अझै पनि रेखदेखका दुईवटा हात्तीसहित कर्मचारी खटाइरहेको स्थानीय बताउँछन् । निकुञ्जभित्रका रिसोर्ट बन्द भएसँगै मेघौलीमा खर्चालु पर्यटकको संख्या पनि घट्न थाल्यो । त्यहाँ आइरहेका पर्यटक अफ्रिकी मुलुकतर्फ आकर्षित भए । त्यसपछि मेघौलीको वाइल्डलाइफ पर्यटनमा उल्लेख्य गिरावट आयो ।

यद्यपि, पछिल्ला केही वर्षयता मेघौलीमा पुनः लक्जरी टुरिजमको विकास हुन थालेको संकेत देखिएको छ । निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटेल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ । ती रिसोर्टमार्फत हाइइन्ड अर्थात् खर्चालु पर्यटक बढेका छन् । यसले मेघौलीको पर्यटनलाई पुनर्जीवित गर्ने संकेत दिएको छ । मेघौलीमा पर्यटक बढ्न वाइल्डलाइफमा रुचि राख्ने हाइइन्ड पर्यटक बढ्न थालेपछि रिसोर्टमा लगानी गर्ने पनि बढेका छन् । पछिल्लो समय मेघौलीमा पर्यटक बढ्न थालेको र लगानी पनि बढ्दै गएकाले आगामी दिनमा मेघौली लक्जरी पर्यटनका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको बताउँछन्, सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्ड लाइफ रिट्रिटका रूपमा सञ्चालनमा ल्याएको हो । ‘चितवनको मेघौली वाइल्डलाइफ टुरिजमका लागि निकै राम्रो गन्तव्य हो भन्ने लाग्छ, पछिल्लो समय यो सोहीअनुसार विकास पनि भइरहेको छ, विभिन्न प्रजातिको चराचुरुंगीको चिरबिरदेखि प्रकृतिमा रमाउन चाहनेका लागि यो सबैभन्दा उत्तम विकल्प बनेको छ,’ उनले भने ।

राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु । यहाँ थारू र कुमाल समुदायको बाहुल्य छ । आगन्तुकहरूले राप्ती नदीमा डुंगामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ । बिहानै हात्ती तथा जिपमा जंगल सफारी गरी जंगली हात्ती, गैँडा, बाघ, मयुर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब पाँच सय भन्दाबढी प्रजातिका चरा पनि देख्न सकिन्छ । यो क्षेत्र जंगली वन्यजन्तुका हिसाबले खुला चिडियाखाना सहर छ। चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्र सडकको सुविधा छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने राप्ती नदी छ । नदीमा डुंगा सयर गर्दै विभिन्न प्रजातिका चरा र जंगली जनावर हेर्ने सुविधाले जो–कोहीलाई रोमाञ्चक बनाउँछ । राप्ती र नारायणी नदीको संगम रहेको गोलाघाट सूर्यास्तका लागि प्रख्यात छ । जहाँ हरेक साँझ आन्तरिक र बाह्य पर्यटकहरु पाल टाँगेर सूर्यास्तको दृश्य हेर्दै रात्रिभोजको रमाइलो गरिरहेको देख्न सकिन्छ ।

मेघौली चराचुरुंगीको चिरबिर आवाजले मात्रै होइन एकसिंगे गैँडा, नदी किनारमा घाम ताप्ने गोहीले जोकोही पर्यटकलाई आकर्षित गर्छन् । त्यति मात्रै होइन, प्रकृतिमा चासो राख्नेहरू, अध्ययनकर्ताहरूलाई पनि यसले आकर्षित गरिरहेको छ । त्यसैले त प्रकृतिको सुन्दरता र शान्त वातावरणमा रमाउन चाहने पर्यटकहरू पछिल्लो समय मेघौली पुग्ने गरेका छन् । मेघौलीको पर्यटन प्रवर्द्धन हुन थालेसँगै यहाँको थारू तथा कुमालको सांस्कृतिक संरक्षणका साथै रैथाने खाना प्रवर्द्धन भइरहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालको भनाइ छ । ‘पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्, यसले यहाँको रैथाने खाना र संस्कृति प्रवर्द्धनमा सहयोग पुगेको छ, बढ्दो पर्यटक र लगानीले मेघौलीको पर्यटनलाई पुनर्जीवन दिन्छ भन्ने लागेको छ,’ उनले भने ।

उनका अनुसार मेघौलीमा थारू र कुमाल समुदायले घरवास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । यसले उनीहरूको आम्दानी बढाएको छ भने मेघौलीको पर्यटन क्षेत्रको विकासमा सहयोग गरेको छ । ‘प्राकृतिक सुन्दरता, वन्यजन्तु तथा चराचुरुंगी हेर्न, जैविक विविधताका क्षेत्रमा मेघौलीमा ठुलो सम्भावना छ, पर्यटनमार्फत यहाँको संस्कृति, परम्परा र रहनसहनको संरक्षणमा ठुलो सहयोग पुगेको छ,’ उनले भने ।

भुसालका अनुसार टाइगर टप्सलगायतका रिसोर्ट सञ्चालनमा हुँदासम्म मेघौली पर्यटनको गन्तव्य मात्रै थिएन, यहाँ अन्तर्राष्ट्रिय हात्ती पोलो खेल पनि आयोजना हुन्थ्यो । तर, टाइगर टप्सलगायतका रिसोर्ट बन्द भएसँगै उक्त खेल पनि बन्द भएको छ । रिसोर्टहरू बन्द भएपछि स्थानीयको उत्पादन बिक्री भएन भने सयौँको संख्यामा स्थानीयले रोजगारी पनि गुमाए।

निकुञ्जभित्रका रिसोर्ट बन्द भएपछि मेघौलीमा २०७३ सालमा चौधरी ग्रुपको मेघौली सेराई ए ताज सफारी लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ भने २०७० सालमा बाराही ग्रुपको बाराही जंगल लज सञ्चालनमा छ । मेघौलीमा पर्यटकीय गतिविधि बढ्न थालेपछि युरोपियन होटेलहरूको समूह इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)ले रु. एक अर्बभन्दा बढी लगानीमा लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा प्रालि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हाल उक्त रिसोर्ट मेघौलीको राप्ती नदी किनारमा निर्माणाधीन छ ।

ठुलो लगानीमा मेघौलीमा रिसोर्टहरू सञ्चालनमा आउन थालेपछि गुणस्तरीय पर्यटकका लागि मेघौली पहिले रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी रिसोर्टहरूले अधिकतम सात सय अमेरिकी डलरसम्म एक दिनको प्याकेज बिक्री गरिरहेका छन् । मेघौली सौराहाको तुलनामा निकै शान्त छ । सौराहामा जस्तो भिड पनि छैन ।

यहाँ पर्यटकहरू शान्त वातावरणमा प्रकृतिसँग रमाउन पाउँछन् । मेघौली पर्यटन विकास समितिले यहाँ बेतारी खोला परियोजनाका नाममा बोटिङ सञ्चालन गर्ने योजना बनाएको छ । समितिले आर्थिक वर्ष ०८२/८३ मा यसको विस्तृत अध्ययन प्रतिवेदन तयार पारी निर्माण सुरु गर्ने योजना बनाएको जनाएको छ । हाल मेघौलीमा साना र ठुला गरी करिब २० वटा होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् भने केही घरवास पनि छन् ।

मेघौलीलाई लक्षित गरी विगत दुई दशकदेखि पर्यटक पथप्रदर्शकका रूपमा कार्यरत मनीष लिम्बू यो क्षेत्र वन्यजन्तु तथा जैविक विविधताका लागि उत्कृष्ट भएको बताउँछन् । ‘अहिले अधिकांश पर्यटकहरू वन्यजन्तु अवलोकन गर्न, विभिन्न प्रजातिको चरा हेर्न तथा अध्ययन गर्न, जंगल वाक तथा सूर्यास्तका लागि मेघौली आउन थालेका छन्,’ उनले भने, ‘मौसम सफा भएको समयमा यहाँबाट माछापुच्छ्रेलगायतका हिमालसमेत देख्न सकिन्छ ।’ बिहानदेखि सुनिने विभिन्न प्रजातिका चराचुरुंगीको चिरबिरदेखि जिप र हात्ती सफारी गरी चितवन राष्ट्रिय निकुञ्ज एक्सप्लोरका लागि मेघौली पहिलो रोजाइको गन्तव्य बन्न थालेको छ ।

रिसोर्टहरूले पनि बोटिङ, जंगल वाकका साथै जंगल सफारीजस्ता सुविधालाई लक्जरी प्याकेजमा समावेश गर्दै आएका छन् । जंगल सफारीका लागि रिसोर्टहरूले हात्ती पालेका छन् । हात्ती सफारीका साथै हात्तीसँग दिन बिताउनका लागि पनि पर्यटकहरू मेघौली पुग्न थालेका छन् । रासस