१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १९ शुक्रबार o९:o६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मे दिवसमा मात्रै श्रमिक सम्झिन्छन् शीर्ष नेता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o९:o६:oo

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि मनाइएको छ । श्रमिक संगठनहरूले श्रमिक दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरेका छन् । छुट्टाछुट्टै कार्यक्रममा प्रमुख दलका शीर्ष नेताहरूले श्रम र श्रमिक वर्गका समस्या र अधिकारको विषयमा प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले निरंकुश राजतन्त्र फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेविरुद्ध खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् । जिफन्टले राजधानीमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले श्रमजीवीले विगतमा रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्न केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो झन्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दा सेतो झन्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झन्डा राता हुन्छन् । हाम्रो देशको झन्डामा पनि रातो रङ छ । हामी संघर्षको गाथा झल्काउने झन्डा छोड्नेछैनौँ,’ ओलीले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । उनले श्रम ऐन, ट्रेड युनियन ऐनलगायतका कानुनहरू आफू प्रधानमन्त्री भएकै वेला आएको स्मरण गरे । ललितपुरमा बिहीबार आयोजित श्रमिक दिवसको कार्यक्रममा देउवाले श्रमिकहरूलाई पूर्ण अधिकारसम्पन्न बनाउँदै जानुपर्नेमा जोड दिए । 

‘श्रमिकलाई पूर्ण अधिकारसम्पन्न बनाउँदै जानुपर्छ । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्तिलाई आफ्नै देशमा ज्ञान, सीप, वृत्तिविकास र लगानी गर्ने वातावरण बनाउनुपर्छ । सरकारलाई रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन आग्रह गर्छु,’ उनले भने । कांग्रेस श्रमिकको हक–अधिकारको पक्षमा सधैँ रहेको भन्दै देउवाले लोकतन्त्रमा सबै श्रमिकको अधिकार सुरक्षित हुने दाबी गरे । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक वर्ग समाज परिवर्तनको आधार र विकासको प्रणेता भएको बताएका छन् । उनले नेपालमा श्रमिक वर्गका हितका लागि ००६ देखि निरन्तर आन्दोलन हुँदै आएको र त्यसकै महत्वपूर्ण निरन्तरता ०५२ मा माओवादी नेतृत्वमा भएको जनयुद्ध रहेको स्मरण गरे । जनयुद्धकै जगमा मजदुर र श्रमजीवी वर्गका हक–अधिकार संविधानमा सुनिश्चित गरिए पनि ती अधिकार व्यवहारमा अझै कार्यान्वयन नहुँदा संविधानमै समीक्षा आवश्यक रहेको बताए । ‘हामीले जनयुद्धमा श्रमिक वर्गसँग गरेको अपिल र उनीहरूको त्यागअनुसार काम गर्न सकेनौँ कि भन्ने आत्मसमीक्षा गरेका छौँ,’ प्रचण्डले भने, ‘राम्रो काम गर्दागर्दै बिचौलियाको घरमा मध्यरातमा सेटिङ गरेर सरकारबाट हटाउन बाध्य पारियो, तर हामी जनतासँग छौँ, वर्गसँग छौँ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कमजोरीलाई सुधार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । बिहीबार राजधानीमा आयोजित मजदुर भेलमा नेपालले भने, ‘संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गरिएको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संविधानमा व्यवस्था गरिएको छ । अब व्यवहारमा उतार्नुपर्ने आवश्यकता छ । हामी श्रमिक वर्गको अधिकारका लागि प्रतिबद्ध छौँ । त्यसका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता छ ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्ने बताएका छन् । ‘मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका छन् । श्रमजीवी जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बिमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन्,’ उनले भने ।