१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १९ शुक्रबार o८:४३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटीलाई रेलिगेसनबाट राहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o८:४३:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेको सरस्वती युथ क्लबलाई हराएपछि आरसिटीले फेर्‍यो राहतको सास 

अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन क्षेत्र छाडेको छ । सरस्वती युथ क्लबलाई रोमाञ्चक खेलमा ४–३ ले पराजित गरेपछि आरसिटीले राहतको सास फेरेको हो । आरसिटीलाई जित दिलाउन प्रज्वल गुरुङले दुई तथा अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल गरेका थिए । सरस्वतीका लागि विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले समान एक गोल गरेका हुन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग ६ पटक जितिसकेको आरसिटीले अहिले ‘बी’ डिभिजन लिग खेलिरहेको छ । तर, लगातार हारले टोलीलाई रेलिगेसनको दबाब थियो । बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा ‘ए’ डिभिजन लिग अनुभव बटुलेको सरस्वतीलाई हराएपछि आरसिटीलाई राहत मिलेको छ । 

जितसँगै नौ खेलमा ८ अंक जोडेको आरसिटी १२औँ स्थानमा उक्लिएको छ । पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झर्‍यो । आरसिटीको जितले एक खेल कम खेलेको टुसाल क्लब ७ अंकका साथ रेलिगेसन क्षेत्रमा झरेको छ । यता, प्लानिङ ब्वाइज युनाइटेड २२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । उसलाई श्री भगवती क्लबले १८ अंकका साथ पछ्याइरहेको छ ।

एकै खेलमा सात गोल 
शीर्ष डिभिजन लिगको अनुभव बटुलिसकेका दुई क्लबबिचको खेल निकै रोमाञ्चक रह्यो । खेलभर सात गोल भए । पहिलो हाफमा दुई गोल हुँदा दोस्रो हाफमा पाँच गोल भएका थिए । अग्रता भने सरस्वतीले बनायो । खेलको ३६औँ मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले अग्रता लियो । चार मिनेटपछि नै अजितले आरसिटीलाई १–१ को बराबरीमा ल्याएका हुन् । सन्देशले ५३औँ मिनेटमा गोल गर्दा सरस्वतीले पुनः अग्रता बनायो । ६५औँ मिनेटमा प्रज्वलले आरसिटीलाई पुनः २–२ को बराबरीमा पुर्‍याएका थिए । 

दुई मिनेटपछि नै साजनले गोल गर्दै पहिलोपटक आरसिटीलाई अग्रता दिलाए । प्रज्वलले ७०औँ मिनेटमा टोलीका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गर्दै जितको आधार तय गरेका थिए । इन्जुरी समयमा सरस्वतीका लागि नरेशले गोल गरे पनि टोलीलाई अंक भने दिलाउन सकेनन् । 

तेस्रो स्थानमा उक्लियो बाँसबारी 
बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । बुधबारै भएको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई १–० ले हरायो । जितपछि बाँसबारीले नौ खेलमा १५ अंक जोडेको छ । टोलीले च्यासल युथ क्लबलाई पछि पारेको हो । पराजित टुसाल समान खेलबाट ७ अंकका साथ रेलिगेसन क्षेत्रमै छ ।

बाँसबारीको जितमा बिक्की राईले निर्णायक गोल गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । बिक्कीले ६७औँ मिनेटमा गोल गरे ।