
भारतको इनर्जी एक्सचेन्ज मार्केटले नेपाललाई रातको समयमा थप चार घण्टा बिजुली उपलब्ध गराएको छ । भारतले बिहीबारबाट राति २ बजेदेखि बिहान ६ बजेसम्म ६ सय मेगावाटसम्म बिजुली दिन नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो ।
राजाभाइ शिल्पकार प्रवक्ता, प्राधिकरण
केही समयसम्म भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट रातिको समयमा विद्युत् कटौती भएको थियो । अहिले राति २ बजेबाट बिहान ६ बजेसम्म विद्युत् आयात गर्न पाइएको छ । यसको म्याद मे र जुन महिनाका लागि हो । त्यसपछि बर्खाका कारण नेपाल आफैँ विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट रातको समयमा थप चार घण्टा विद्युत् आउन थालेको जानकारी दिए । ‘केही समयसम्म भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट रातिको समयमा विद्युत् कटौती भएको थियो । अहिले राति २ बजेबाट बिहान ६ बजेसम्म विद्युत् आयात गर्न पाइएको छ,’ उनले भने, ‘यसको म्याद मे र जुन महिनाका लागि हो । त्यसपछि बर्खाका कारण नेपाल आफैँ विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नेछ ।’
योसँगै अब भारतको इनर्जी एक्सचेन्जबाट दैनिक १५ घण्टा विद्युत् आयात गर्न पाइनेछ । अब राति २ बजेदेखि साँझ ५ बजेसम्म लगातर विद्युत् आयात गर्न पाइनेछ । ९ वैशाखसम्म त्यहाँबाट दैनिक १६ घण्टासम्म विद्युत् आइरहेको थियो । त्यसमा बिहान ६ देखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म गरेर कुल १६ घण्टा विद्युत् आउने गरेको थियो ।
तर, आइपिएल र गर्मी बढेर विद्युत्को माग पनि बढेपछि भारतले ९ वैशाखदेखि सोलार आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै विद्युत् दिइरहेको थियो । रातिको समयमा भने विद्युत् दिन छाडेको थियो । अब बिहीबारदेखि भने राति २ देखि बिहान ६ बजेसम्म विद्युत् दिन सुरु गरेको हो । जुन ९ वैशाखअघिको तुलनामा एक घण्टा कम हो । योबाहेक पावर एक्सचेन्ज कमिटीअन्तर्गत भारतको उत्तर प्रदेश र बिहारबाट भने २४ घण्टा नै विद्युत् आयात भइरहेको छ ।
भारतले विद्युत्मा कटौती गरेपछि नेपालको औद्योगिक क्षेत्रमा पनि विद्युत् आपूर्ति प्रभावित भएको थियो । अब औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने प्राधिकरणको भनाइ छ । ‘नदी–नालाहरूमा बहाव बढेसँगै स्वदेशी उत्पादन बढेको छ । उत्पादनमा वृद्धि तथा भारतले मे १ देखि विद्युत् खरिदको समयावधि थप ४ घण्टा बढाई बिहान २ देखि बेलुका ५ बजेसम्म कायम गरेकाले हाल उद्योगमा भइरहेको विद्युत् कटौती कम हुने र औद्योगिक ग्राहकले मागअनुसारको विद्युत् पाउने भएका छन्,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कुलमानलाई जसरी पनि गलत देखाउन श्वेतपत्रमा अझै तथ्यांक तोडमोड गरिँदै
पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई गलत देखाउन ऊर्जामन्त्री दीपक खड्काको योजनाअनुरूप प्राधिकरणसम्बन्धी विभिन्न तथ्यांकलाई थप तोडमोड गर्ने कार्य अझै भइरहेको छ । त्यसलाई अन्तिम रूप दिएर श्वेतपत्र जारी गर्ने तयारी रहेको मन्त्रालय स्रोतको भनाइ छ ।
११ चैतको मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । त्यसको भोलिपल्टै १२ चैतमा मन्त्री खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णय गरेका थिए । मन्त्री खड्काले प्राधिकरणको नाफालाई कागजी भएको भनेरसमेत सार्वजनिक रूपमा अभिव्यक्ति दिएका थिए । त्यो अवस्थामा प्राधिकरणको श्वेतपत्र जारी गर्ने निर्णयलाई महŒवपूर्ण मानिएको थियो ।
त्यो अवस्थामा गत १५ वैशाखको सञ्चालक समितिले श्वेतपत्रको अन्तिम मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको थियो, जुन १६ वैशाखमा जारी गर्ने तयारी थियो । तर, अन्तिम समयमा त्यो स्थगित भयो । श्वेतपत्रको उल्लिखित विवरण अनौपचारिक रूपमा बाहिरिसकेको छ । त्यसले विवादसमेत सिर्जना गरेपछि श्वेतपत्र जारी गर्ने कार्य स्थगित भएको थियो ।
प्राधिकरणका प्रवक्ता शिल्पकारले अबको केही दिनमा श्वेतपत्र जारी हुने बताए । ‘श्वेतपत्र जारी गर्न आन्तरिक तयारी भइरहेको छ । यसअघि बोर्डको निर्देशनअनुसार श्वेतपत्र जारी गर्ने कार्य रोकिएको थियो । बोर्डको निर्देशनअनुसार थप तयारी भइरहेको छ । तयारी सकिएपछि श्वेतपत्र जारी गर्नेछौँ,’ उनले बताए । उनले बोर्डले के निर्देशन दियो भन्ने विषयमा भने केही बताएनन् । पहिलोपटक भदौ ०७३ मा प्राधिकरणको कार्यकारी निर्देशक बनेका घिसिङले प्राधिकरणलाई सञ्चिति मुनाफामा लगेका थिए । असार ०७३ सम्म प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँले सञ्चिति नोक्सानीमा थियो । असार ०८१ सम्म आउँदा प्राधिकरणले त्यो सञ्चित नोक्सानी तिरेर करिब साढे ४७ अर्ब रुपैयाँ सञ्चित नाफा कायम गरेको छ ।
वर्षा सुरु भएपछि बढ्न थाल्यो आन्तरिक उत्पादन
पछिल्लो समय भएको मनसुन र गर्मीले विद्युत्को आन्तरिक उत्पादन बढ्न थालेको छ । गर्मीले हिउँ पग्लिन सुरु गरेका कारण पनि खोलामा पानीको बहाव बढ्न थालेको छ । फलस्वरूप आन्तरिक उत्पादन बढ्न सुरु गरेको प्राधिकरणका प्रवक्ता शिल्पकारले बताए । उनका अनुसार बुधबार साँझ पिक आवरमा १५ सय २३ मेगावाट विद्युत् उत्पादन भएको थियो । प्राधिकरणका आयोजनाबाट चार सय १९ मेगावाट, प्राधिकरणको सहायक कम्पनीका परियोजनाबाट पाँच सय २५ मेगावाट र निजी क्षेत्रका परियोजनाबाट पाँच सय ७९ मेगावाट विद्युत् उत्पादन भएको छ । अहिले नेपालमा विद्युत्को जडित क्षमता ३४ सय मेगावाट हाराहारी छ । यसैगरी, बुधबार पिक आवरमा पिइसीअन्तर्गत एक सय १६ मेगावाट विद्युत् आयात भएको प्रवक्ता शिल्पकारले बताए ।