
जम्मु–कस्मिरको पहलगाममा ९ वैशाखमा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएको घटनापछि भारत–पाकिस्तानबिच तनाव बढ्दा नेपालले सीमावर्ती नाकामा थप कडाइ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतसँगको सीमानाका क्षेत्रमा संयुक्त गस्ती थालेका हुन् भने दुवै सुरक्षा निकायले निगरानी पनि बढाएका हुन् ।
अनधिकृत गतिविधि र व्यक्तिको घुसपैठ रोक्न सीमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । सीमावर्ती क्षेत्रबाट घुसपैठ हुन सक्ने आशंका तथा भारतले पाकिस्तानी नागरिकलाई निकाला गरेपछि पाकिस्तानी नागरिक सीमावर्ती क्षेत्रबाट नेपाल छिर्न सक्ने आशंकासहित सुरक्षा व्यवस्था कडा पारिएको हो ।
भारत र पाकिस्तानबिच तनाव बढेका वेला भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग इन्चार्ज विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर सीमा सुरक्षामा चासो दिएका थिए । भेटघाटपश्चात् सीमावर्ती क्षेत्रमा थप कडाइ गरिएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
नेपाल–भारतबिच सीमा जोडिएका जिल्ला २७ छन् । भारतसँग १७ सय ५१ किलोमिटर सीमा दूरी जोडिएको छ । तर, विशेष गरी तराईका झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकी नाकामा गस्ती बढाइएको छ । हुन त अवैध घुसपैठ रोक्न भन्दै भारतीय पक्षले पनि नेपालसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले सीमा क्षेत्रमा अनधिकृत गतिविधि नहोस् भन्ने आफूहरूको चासो रहेको बताए । ‘नेपाल प्रहरीका जिल्ला कार्यालय र सशस्त्र प्रहरी बलका जिल्लास्थित गणको समन्वयमा संयुक्त गस्ती, निगरानी र सुरक्षा चेकजाँचजस्ता गतिविधिलाई तीव्रता दिएका छौँ, ताकि अनधिकृत गतिविधि हुन नपाओेस्,’ डिआइजी न्यौपानेले भने ।
मधेश प्रदेशमा प्रहरीले थप सतर्कता अपनाएको छ । सप्तरीको गोबरगाढादेखि पश्चिममा पर्साको ठोरीसम्म ४६४ किलोमिटर मधेश प्रदेशको सीमा भारतको विहार राज्यसँग जोडिएको छ । पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लाका विभिन्न नाकामा रहेका प्रहरी युनिटलाई सीमानाकामा थप कडाइ गर्न निर्देशन दिएको बताए । सीमानाकामा थप कडाइ गर्नुका साथै शंका लागेका व्यक्तिको परिचयपत्र हेरेर मात्र नेपाल प्रवेश गर्न दिन निर्देशन दिएको पनि बताए । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले पनि सीमावर्ती क्षेत्रमा थप कडाइ गर्न माथिबाट निर्देशन आएको बताए । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सधैँ सुरक्षा निगरानी गर्दै आएको छ,’ कोइरालाले भने, ‘तर पछिल्लो एक सातादेखि हामीले थप सुरक्षा निगरानी बढाएका छौँ ।’ सीमावर्ती क्षेत्रमा नियमित गस्ती गर्ने, सीमावर्ती क्षेत्रमा शंका लागेका व्यक्तिलाई चेकजाँच गर्ने, सुरक्षा निगरानी बढाउने कार्य भइरहेको उनले बताए ।
त्यस्तै, भारत र पाकिस्तानबिचको तनावलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्ज नाकामा कडाइ गरिएको छ । भारतमा रहेका पाकिस्तानी नेपालगन्ज नाका भएर नेपाल प्रवेश गर्न सक्ने खतरालाई मध्यनजर गरी कडाइ गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए । ‘भारतबाट नेपाल प्रवेश गर्नेलाई सोधपुछ गर्छौँ । शंका लागेमा परिचय खुल्ने कागजात माग्छौँ,’ उनले भने । यद्यपि, तेस्रो मुलुकका व्यक्ति नेपालगन्ज नाकामा फेला नपरेको बुढाथोकीले बताए । ‘भारतले देश छाड्न भनेका पाकिस्तानी लुक्न नेपाल प्रवेश गर्ने खतरा छ । ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई निगरानी गर्न र शंका लाग्नेबित्तिकै परिचय खुल्ने कागजात माग्न निर्देशन दिइएको छ,’ उनले भने, ‘तेस्रो मुलुकको व्यक्ति फेला पर्नेबित्तिकै नियन्त्रणमा लिन निर्देशन छ ।’
नेपालगन्ज नाकामा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले कडाइ गरेका कारण पाकिस्तानी नेपाल प्रवेश गर्ने सम्भावना एकदमै कम रहेको उनले बताए । ‘भारततर्फ एसएसबीले परिचयपत्र हेरेर मात्र नेपालतर्फ आउन र जान दिन्छ । भारतीय सुरक्षा बलले कडाइ गरेका कारण पाकिस्तानी नेपाल प्रवेश गर्ने सम्भावना एकदमै कम छ,’ बुढाथोकीले भने ।
भारत–पाकिस्तानबिच तनाव हुँदा नेपालमा सुरक्षा संवेदनशीलता बढ्छ : बमबहादुर भण्डारी, पूर्वएआइजी
भारत–पाकिस्तानबिच जति तनाव बढ्छ, नेपालमा उति सुरक्षामा चुनौती थपिन्छ । खासगरी भारतसँगको खुला सीमामा सुरक्षा संवेदनशीलता बढ्छ । अहिले भारत र पाकिस्ताबिच तनाव बढ्दै गएको अवस्थामा सीमा क्षेत्रको मुभमेन्टमा हामी विशेष ‘अलर्ट ’ हुनु जरुरी छ । सार्क राष्ट्रका नागरिकहरू सबै उस्तै देखिन्छन् । अनुहार हेरेर कुन देशको भनेर चिन्न गाह्रो हुने भएकाले चेकजाँचमा कडाइ आवश्यक हुन्छ । आफ्नो भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग गर्न नदिने नेपालको परराष्ट्र नीति नै छ । त्यसकारण छिमेकी देशहरूमा तनाव बढ्दा नेपाली भूमि दुरुपयोग हुन सक्ने भएकाले यसमा थप चनाखो हुनु जरुरी छ । शंकास्पद व्यक्ति तथा वस्तुको मुभमेन्ट रोक्न विमानस्थलदेखि नाकासम्म चेकजाँचमा कडाइ गर्नुपर्छ, सर्भिलेन्स र भिजिलेन्स बढाउनुपर्छ । सुरक्षा निकायसँगै अध्यागमन र भन्सार पनि ‘अलर्ट’ हुनुपर्छ ।