१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ९ मंगलबार o५:५६:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सफलताका लागि लगन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार o५:५६:oo

एक बालकले एकपटक एक धनाढ्य व्यक्तिलाई देखेपछि उनमा पनि धनी हुने धुन चढ्यो । उनले अरू सबै कामकुरो छाडेर धन कमाउने उपायमा लागे । रहँदाबस्दा उनले राम्रै धन पनि कमाए । यसैबिच उनको भेट एक विद्वान्सित भयो । विद्वान्सितको भेटपछि उनलाई लाग्यो– वास्तविक मान, सम्मान र मजा त विद्वान् बन्नुमा पो रहेछ । त्यस दिनदेखि उनले धन कमाउने काम चटक्कै छाडिदिए र लेखपढमा लागे । 

उनले मुस्किलले अक्षरसम्म चिन्न थालेका के थिए, उनको भेट एक चर्चित संगीतज्ञसित भयो । ती संगीतज्ञ आफ्नो देशभर मात्र नभई विदेशमा समेत चर्चित थिए । उनको ऐस, आराम र मानसम्मान देखेपछि उनमा संगीतज्ञ बन्ने भूत सवार भयो । उनले लेखपढको काम चटक्क छाडेर अब संगीत सिक्ने काममा आफ्नो सम्पूर्ण समय दिन थाले । यसो गर्दागर्दै उनको जीवनको लामो समय बितिसकेको थियो । उनी न धनी बन्न सफल भए न त विद्वान् नै बने । संगीतको क्षेत्रमा पनि उनले खासै केही गर्न सकेनन् । आफ्नो अवस्था देख्दा उनी बडो दुःखी भए ।

आफ्नो दुःखमोचनका लागि उनी एक महात्माको शरणमा पुगे । उनले महात्मासँग आफ्ना बारेमा बताए र आफ्नो दुःखबाट मुक्तिको उपाय बताइदिन अनुरोध गरे । उनको समस्या सुनेपछि महात्मा हल्का मुस्कुराए र भने– बाबु, यो चमकधमकपूर्ण दुनियाँमा तिमी जहाँ–जहाँ पुग्छौ, त्यहाँ कुनै न कुनै आकर्षण पक्कै भेट्छौ । जबसम्म तिमी कुनै एक निश्चित लक्ष्य लिएर त्यसैमा लागिपर्न सक्दैनौ, तबसम्म सफलता तिमीबाट कोसौँ टाढा रहन्छ ।

तर, जब तिमी कुनै निश्चित लक्ष्य लिएर त्यसैको साधनामा लीन हुन्छौ, तब सफलता तिमीलाई खोज्दै आउनेछ । अन्यथा, निरन्तर लक्ष्य परिवर्तन गरिरह्यौ भने तिमी यो संसारको झमेलामा फसिरहनेछौ र त्यसैको चक्कर काटिरहन बाध्य हुनेछौ । महात्माको उपदेशले उनका आँखा खुले । त्यहाँबाट बिदा भएर घर फर्किए र एउटा निश्चित लक्ष्य बनाएर त्यसैमा साधनारत रहे ।