
सिराहाको लहानस्थित बालबिटोरी तथा गाउँ ब्लक जग्गा फुकुवा संघर्ष समितिले गाउँ ब्लकको बाँकी जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण, हक हस्तान्तरणसहित रोक्का जग्गा फुकुवाका लागि पहल गरिदिन लहान नगर प्रमुखसमक्ष माग गरेका छन्।
समितिले मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरीलाई ज्ञापन-पत्रमार्फत नापनक्सा भएर पनि जग्गा रोक्का रहँदा सास्ती खेप्नुपरेको भन्दै फुकुवाका लागि पहल गरिदिन आग्रह गरेको हो।
संघर्ष समितिका संयोजक विजयकुमार गुप्ताका अनुसार ०२६ सालमा जग्गा नापनक्सामार्फत केही जग्गाको स्रेस्ता कायम गरी जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत वितरण गरिएको थियो।
‘नगर क्षेत्रका विभिन्न व्यक्तिहरूको घरवाससमेत रहेको बिटौरी जग्गालाई गाउँ ब्लकको फिल्डबुक कायम गरी नापनक्सा भएको थियो,’ उनले भने, ‘नापी विभागबाट बालबिटाेरी तथा गाउँ ब्लक जग्गा नापनक्सा भई केही व्यक्तिले फिल्ड बुकको आधारमा दर्ता गरी धनीपुर्जा पाएको, तर बाँकी जग्गा दर्ता गरी जग्गा धनीपुर्जा उपलब्ध नगराउँदा ठुलो समस्या भएको छ।’
लहान नगरअन्तर्गत ४, ५, ७ र ८ नम्बरको बजार क्षेत्रको मटियर्वा, बैरिया, गोेपालखोन्ही र रघुनाथपुर मौजामा बालबिटौरी र गाउँब्लक कायम रहेको जग्गामा किसानले सास्ती झेल्नुपरेकाले पहल गर्न आग्रहसहितको ज्ञापनपत्र बुझाइएको उनले बताए। समितिका अनुसार जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएर पनि जग्गाको खरिद बिक्री, हक हस्तातरण रोक्का हुँदा बजार क्षेत्रका व्यवसायीले अप्ठ्यारो झेलिरहेका छन्।
‘हकभोगमा रहेको जग्गा बैंकमा धितो राखेर व्यापार व्यवसाय गर्दै आएका व्यापारी, व्यवसायीलाई जग्गाको हक हस्तातरण रोक्का हुँदा ठुलो समस्या छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘त्यही बहानामा बैंकले ऋण रकम फिर्ता गर्न दबाब दिँदा कतिपयको व्यवसाय बन्द भएको र कतिपयको बन्द हुने अवस्थामा पुगेको छ।’
लहान नगरपालिकाका नगर प्रमुख चौधरीले यसअघि पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्रमार्फत बालबिटोरी तथा गाउँब्लक जग्गा फुकुवा गर्न आग्रह गरेको बताए। उनका अनुसार जग्गा रोक्का हुँदा हालसम्म सम्बन्धित जग्गाधनीले प्रमाणपुर्जा प्राप्त गर्न नसकेकाले समस्या हुँदा तत्काल फुकुवा गर्न आग्रह गरिएको छ।
ज्ञापनपत्रको बोधार्थ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबार काठमाडौं, जिल्ला प्रशासन कार्यालय सिराहा, मालपोत र नापी कार्यालय लहानलाई पनि दिइएको छ।