१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format o९:४६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुध बेचेर वार्षिक एक करोड ३३ लाख कमाउँछन् ढाकाडामका किसान

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:४६:oo

सल्यानको दार्मा गाउँपालिकाको ढाकाडामका दुग्ध किसान मनबहादुर खत्रीले दुध बिक्रीबाट मासिक ४२ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । गत वर्ष मात्र उनले गाउँमै सञ्चालन भएको दुग्ध संकलन केन्द्रमा चार हजार लिटर दुध बिक्री गरेर दुई लाख ८० हजारभन्दा बढी आम्दानी गरे । 

ढाकाडामकै अर्का किसान क्षेत्रबहादुर केसीले पनि गत वर्ष १८ सय ४५ लिटर दुध बिक्री गरेर एक लाख ३० हजारभन्दा बढी आम्दानी गरे । मनबहादुर र क्षेत्रबहादुरले जस्तै ढाकाडामका ६ सयभन्दा बढी कृषकले नियमित दुध बेच्दै आइरहेका छन् । ढाकाडाममा प्रतिघर कम्तीमा दुईवटा भैँसी देख्न सकिन्छ । भैँसीपालनलाई नै यहाँ किसानले आफ्नो पहिलो रोजाइ बनाएका छन् । 

घरमै  बसेर खेतीपाती र वस्तुभाउ दुवै पेसालाई सँगै अँगालेर सहजै परिवार पाल्न पाउँदा निकै खुसी लागेको मनबहादुर बताउँछन् । ‘दिनमा २० देखि २२ लिटरसम्म दुध बिक्री भएकै छ,’ उनी भन्छन्, ‘घरखर्च र छोराछोरी पढाउन भएकै छ । अरू किन तनाव लिनु ?’

ढाकाडाममा सञ्चालित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्था र जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहकारी संस्थाले किसानले उत्पादन गरेको दुध संकलन गर्दै आइरहेका छन् । गत आवमा यो संस्थाले एक लाख ९१ हजार लिटर  र  जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहकारी संस्थाले ६४ हजार आठ सय ७८ लिटर दुध संकलन गरेको छ । 

आफ्नो क्षेत्रभित्रका गाउँका विभिन्न आठ टोलमा दुध संकलन केन्द्र स्थापना गरी गाडीबाट दुध संकलन गर्दै आइरहेको ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक सुरेन्द्र प्रकाश केसीले बताए । ‘यस सहकारीका पाँच सयभन्दा बढी लाभग्राही कृषक छन्, सबै टोललाई पायक पर्ने गरी आठ स्थानमा दुध संकलन केन्द्र स्थापना गरी आफ्नै गाडीबाट दुध संकलन गर्ने गर्छौँ,’ उनले भने ।  

गत वर्ष सहकारीले एक लाख ९१ हजार लिटर दुध संकलन तथा बिक्री गरेको केसीको भनाइ छ । जसबाट एक करोड ३३ लाख ७० हजार किसानले आम्दानी गरेका छन् । किसानलाई दुई–दुई महिनाको अन्तरमा भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।  

फ्याट आधारमा दुधको मूल्य निर्धारण हुने भएकाले जुन कषकको दुधमा बढी फ्याट, उसले बढी रकम पाउने जलेखर्क दुग्ध उत्पादन तथा प्रशोधन सहरकारी संस्थाका अध्यक्ष गणेश केसीले बताए । ल्याक्टो मिटरका माध्यमबाट किसानले ल्याएको दुध परीक्षण हुने उनको भनाइ छ । उनले भने, ‘हाम्रो सेवा क्षेत्रभित्र एक सय ९२ जना कृषक हुनुहुन्छ, उहाँहरूले ल्याएको दुधमा जति फ्याट छ, सोहीअनुसारको मूल्य निर्धारण हुन्छ ।’ 

जिल्लाभर तीन सय मेट्रिकटन दुध उत्पादन 
सल्यानमा गत आर्थिक वर्षमा तीन सय मेट्रिकटन दुध उत्पादन तथा बिक्री भएको छ । जिल्लाभर उत्पादन हुने दुधको ७५ प्रतिशतभन्दा बढी दुध ढाकाडामबाट आपूर्ति हुने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए । गत वर्ष मात्र तीन सय मेट्रिकटन दुध बिक्री हुँदा एक करोड ८० लाख रुपैयाँ किसानका हातमा परेको उनको भनाइ छ ।  

अनुदानले दुध उत्पादनमा वृद्धि
दुधमा प्रतिलिटर पाँच रुपैयाँका दरले किसानलाई प्रोत्साहनस्वरूप रकम उपलब्ध गराइएपछि जिल्लामा दुध उत्पादन वृद्धि भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताए  । उनले भने, ‘डेरीमा दुध बिक्री गर्ने किसानलाई कर्णाली प्रदेश सरकारले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेपछि दुग्ध उत्पादक किसानको वृद्धिसमेत भएको छ ।’ गत वर्ष मात्रै दुई लाख ६६ हजार आठ सय ९५ लिटर दुधमा १३ लाख ३४ हजार चार सय ७५ रुपैयाँ अनुदान वितरण गरिएको छ । 

अनुदानले दुध उत्पादनमा वृद्धि भएको छ : गोविन्द महत प्रमुख, पशु अस्पताल सल्यान
डेरीमा दुध बिक्री गर्ने किसानलाई कर्णाली प्रदेश सरकारले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेको छ । यसले दुग्ध उत्पादनमा वृद्धिसमेत छ । गत वर्ष मात्रै दुई लाख ६६ हजार आठ सय ९५ लिटर दुधमा १३ लाख ३४ हजार चार सय ७५ रुपैयाँ अनुदान वितरण गरिएको छ । व्यावसायिक भैँसी तथा गाईपालन गर्ने किसानमा वृद्धि आउनु, नश्ल सुधारलगायतका कारण दुध उत्पादनमा वृद्धि आएको हो ।