मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनको तयारीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

फागुनमा तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदै छन् । विदेशी चलचित्रसँग नजुधाई प्रदर्शनको तयारी गरे पनि स्वदेशी दुई चलचित्र भने जुध्ने भएका छन् । फागुन १९ मा दुई ठूला चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शन हुँदै छन् ।

त्यसअघि फागुन ५ मा चलचित्र ‘फूलबारी’ प्रदर्शन हुँदै छ । तीनवटै चलचित्र फरक श्रेणी तथा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको निर्माताले बताएका छन् । चलचित्र ‘फूलबारी’मा अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको छ । छोरासँग समय बिताउन चाहेका शिक्षकदम्पती र सन्तानबीचको कथा समेटिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

‘परिवारको महत्वलाई चलचित्रमार्फत आमदर्शकसमक्ष पुर्‍याउने कोसिस गरेका छौँ । मेरो अघिल्लो चलचित्रको तुलनामा यो भिन्न छ,’ निर्देशक गुरुङले भने । यसमा विपिन कार्कीले शिक्षकको भूमिका निर्वाह गरेका छन् । अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनीष ढकाल, गौमाया गुरुङ, साक्षीसिंह भण्डारीलगायतले पनि अभिनय गरेका छन्। यशोधा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ ।

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार गरिएको बताइएको छ । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका हुन् ।

‘दर्शकले रुचाउने चलचित्र तयार गरेका छौँ । अघिल्लो शृंखला हेरेर आउनुभएका दर्शकलाई यसले निराश बनाउँदैन,’ गिरीले भने । यसमा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन छ । 

त्यस्तै, ‘छड्के’को सिक्वेल ‘छड्के २.०’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रिन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् । ‘म टाइपकास्टभन्दा पनि विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहन्छु,’ अभिनेता केसीले भने, ‘यो मेरो र दर्शकका लागि फरक अनुभव छ । यसमा हिंस्रक अवतारमा प्रस्तुत भएको छु ।’ 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ । 

अन्य हप्ता खाली राखेर फागुन १९ मा दुई चलचित्र प्रदर्शनमा आउनुले दुवै पक्षलाई घाटा हुने वितरक करण श्रेष्ठ बताउँछन् । उनले भने, ‘आस गरिएका दुई चलचित्र एकसाथ प्रदर्शनमा आउनु राम्रो होइन । यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा समेत असर गरेको छ । यस्ता विषयमा सम्बन्धित निकायले पहल गरेर मिलाउनुपर्छ ।’ रासस