
जेन–जी आन्दोलनका कारण नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ । सीमावर्ती कञ्चनपुरका विभिन्न खुला सीमानाकाहरूबाट भारतमा प्रवेशमा रोक लगाइएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालबाट नेपाली नागरिक भारत प्रवेश गर्न दिएको छैन, तर आधारकार्ड भएका भारतीयलाई भने प्रवेश गर्न दिएको छ । बिहानैदेखि गड्डाचौकी, टनकपुर, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वास नगरका विभिन्न खुला नाकाहरूबाट नेपाली तथा भारतीयहरूलाई भारत प्रवेशमा रोक लगाएको छ । तर, भारतबाट नेपाल आउन भने दिइएको छ ।
भारतबाट स्वदेश फिर्ता भएका बैतडीका जनक लुहारले सीमावर्ती बनबासा नाकाबाट नेपाल आउन दिएको, तर भारत जान नदिएको बताए । जेन–जी आन्दोलनका क्रममा मंगलबार कञ्चनपुर, कैलालीसहितका विभिन्न जिल्लाका कारागारमा रहेका कैदीबन्दी भागेपछि भारत प्रवेशमा रोक लगाएको जनाइएको छ । भारतबाट फर्किएका नेपाली मजदुर यातायात सेवा सञ्चालन नभएपछि महेन्द्रनगर बसपार्कसहितका सडकमै अलपत्र गरेका छन् ।