
जाजरकोट सदरमुकाम खलंगामा नेपाली सेनाले बाक्लो गस्ती सुरु गरेको छ। मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा देशभर भौतिक संरचनामा भएको क्षति र बढ्दो असुरक्षालाई मध्यनजर गर्दै सेना परिचालन भएको हो । मंगलबार राति १० बजेदेखि सेनासहितका सुरक्षा निकाय परिचालित भएका हुन्।
यतिवेला नेपाली सेनाले सहर, गल्ली र सडकमा निस्किएका सर्वसाधारणलाई विनाकाम बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेको छ। आकस्मिक सेवामा संलग्नलाई भने सोधपुछ र परिचयपत्रका आधारमा मात्र हिँडडुलको अनुमति दिइएको छ।
राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै जाजरकोट सदरमुकाममा समेत नेपाली सेनाले गस्तीलाई तीव्रता दिएको निमित्त प्रमुख जिल्ला अधिकारी दीपेन्द्रबहादुर शाहीले बताए । अहिले सदरमुकाम सुनसान देखिन्छ, फाट्टफुट्ट नागरिकबाहेक आममानिस घरमै सीमित छन्। जिल्लास्थित सरकारी कार्यालयहरूले भने कुनै सार्वजनिक बिदा दिएका छैनन् ।