
डिभिजन वन कार्यालय बाराले वन क्षेत्रमा प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । जितपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वन क्षेत्रमा केही समयदेखि बाघ र अन्य वन्यजन्तुको आक्रमणका कारण नागरिकको मृत्यु बढ्दै गएपछि कार्यालयले निषेध गरेको हो ।
डिभिजन वन अधिकृत राजीव कुमार झा संयोजकत्वमा विभिन्न सरोकारवालाको उपस्थितिमा आइतबार बसेको बैठकले वन ऐन, २०७६ को दफा ९ अनुसार राष्ट्रिय वन, जसमा सरकारले व्यवस्थित गरेका वन, सामुदायिक वन तथा साझेदारी वनमा प्रवेश रोक्ने निर्णय गरेको हो । निर्णयसँगै मृतक परिवारप्रति डिभिजन वन कार्यालयले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
निषेध अवधि भदौ मसान्तसम्म कायम रहनेछ । यस अवधिमा वन क्षेत्रमा आवतजावत गर्नु, घरपालुवा जनावर लैजानु, च्याउ टिप्न जानु, काठ, दाउरा, खरघाँस, पात, सोत्तर लगायतका वन पैदावार संकलन गर्नु र पिकनिक वा भोज–भतेरका लागि जानु पूर्ण रूपमा निषेध गरिएको छ ।
डिभिजन वन कार्यालयले वनमा प्रवेश गर्दा बाघ, हात्ती वा अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने उच्च सम्भावना रहेको जनाएको छ । केवल अति आवश्यक काम परेमा मात्र कार्यालयको अनुमति लिएर प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । यस सूचनाको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने र वनमा प्रवेश गर्दा हुने कुनै पनि क्षतिको सम्पूर्ण जिम्मेवारी प्रवेश गर्ने व्यक्ति वा समूहको हुने डिभिजन वन कार्यालय बाराका प्रमुख राजीवकुमार झाले बताए ।
निषेधित क्षेत्रको सीमामा पूर्वतर्फ वकैया खोला, पश्चिमतर्फ वीरगंज–हेटौडा जाने त्रिभुवन राजपथ, उत्तरतर्फ बारा र मकवानपुर जिल्लाको सिमा, र दक्षिणतर्फ सिमरा–वडहर्वा हुँदै कोल्हबी जाने बाटो पर्दछ । यस क्षेत्रमा रहेका पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा पनि गाडी रोक्न वा पार्किङ्ग नगर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झाले जानकारी दिए ।