
सशस्त्र प्रहरी बलको टोलीले सिराहाको गोलबजारबाट भन्सार छली गरेर भित्र्याइएको करिब तीन लाख रुपैयाँ मूल्यको कपडा, मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ।
भारतबाट भन्सार छली गरेर अवैध रूपले ल्याइएकोे लत्ताकपडा र दुई थान मोटरसाइकलसहित सुखीपुर नगरपालिका– ७ सिस्वा घर भएका करिब २२ वर्षीय रामकुमार यादवलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाले जनाएको छ। हेडक्वार्टर प्रमुख सिराहाका सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार आइतबार बिहान गोलबजार नगरपालिका– ६, गुम्बाचोकनजिकबाट सशस्त्र प्रहरी बल नम्बर ७ बाट खटिएको गस्ती टोलीले कपडा र मोटरसाइकलसहित यादवलाई पक्राउ गरेको हो।
पक्राउ परेका यादवसँगै रहेका अर्का मोटरसाइकलचालक भने कपडा र मोटरसाइकल छोडेर फरार भएकाले खोजी गरिरहेको उनले बताए। उनका अनुसार एउटा भारतीय नम्बर प्लेट र अर्को नम्बर प्लेट नै नरहेको दुई लाख ५० हजार मूल्यबराबरका दुई थान मोटरसाइकल र दुई मोटरसाइकलमा रहेको दुई लाख ८२ हजार आठ सय रुपैयाँबराबरको कपडा बरामद गरिएको छ। बरामद सामग्रीको मूल्य पाँच लाख लाख ३२ हजार आठ सयबराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने नाकाहरूमा सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ। पक्राउ परेका युवक, कपडा र मोटरसाइकलसहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा बुझाइएको उनले बताए। सशस्त्र प्रहरीका अनुसार पक्राउ परेका यादव पटक–पटक तस्करीका सामानसहित पक्राउ परेर छुटेका पटके तस्कर हुन्।
त्यसअघि सशस्त्र प्रहरीले १२ भदौको राति लहान ठाढी सडकअन्तर्गत लहान नगरपालिका– १९, छर्रापट्टी चोकनजिकबाट भन्सार छली गरी ल्याउँदै गरेको सात लाख रुपैयाँभन्दा बढी मूल्यको कपडासहित भारतीय नम्बर प्लेटको स्कार्पियो नियन्त्रणमा लिएको थियो। भन्सार छली भित्र्याइएको सात लाख चार हजार ८५० रुपैयाँ मूल्यको विभिन्न खालका कपडा र १५ लाख रुपैयाँ स्कार्पियो आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले ठाढी भन्सार कार्यालयमा बुझाएको थियो।