मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
२o८२ भदौ २१ शनिबार २१:१४:oo
Read Time : < 1 मिनेट
समाचार

सिरुवालीका ४८ घरमा खानेपानी धारा जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार २१:१४:oo

छत्रेश्वरी गाउँपालिका–५ सिरुवालीमा २९ लाखभन्दा बढी लागतमा एक घर एक धारा खानेपानी तथा सरसफाई योजनाअन्तर्गत ४८ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ ।

तामाधारा खानेपानी तथा सरसफाई योजनामार्फत वर्षाैंदेखि खानेपानीको समस्य भोग्दै आइरहेको स्थानीयहले घरघरमै पानी आएपछि समस्याबाट छुटकारा पाएका छन् । 

बस्तीदेखि तीन किलोमिटर टाढा ढोरेनीको मुलबाट पानी ल्याइएर ४८ घरधुरीमा शुद्ध पानी वितरण गरिएको वडा नम्बर ५ का वडाध्यक्ष फौदबहादुर बस्नेतले जानकारी दिए । आँगनमै पानीको धारा झरेपछि सिरुवाली निवासी ७८ वर्षीया खिमी रावतले वर्षौको दुःख अब सकिएको बताए । उनले भने, ‘पानीकै लागि दिन रात भनिएन, छरछिमेकमा झगडा भएनकी तर, धेरै वर्षपछि घर घरमा खानेपानी आएपछि निकै खुसी लागेको छ ।’ 

६७ वर्षीय इश्वरीप्रसाद रावतले गाउँपालिकाबाट योजना परेपछि हरेक परिवारले २३–२३ दिन श्रमदान र ४५ सय उठाएर योजना सम्पन्न गरेको बताए । 

उपभोक्ताहरूबाट श्रमदानबापत पाँच लाख ५२ हजार ५३४, नगद एक लाख ९२ हजार तथा गाउँपालिका र सुस्वा परियोजनाबाट २६ लाख ६० हजार ५४१ रुपैयाँ अनुदानबाट कुल २९ लाख ८ हजार ७५ रुपैयाँ लागतमा इनलाइन क्लोरिनेशन प्रणाली जडान गरिएको खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । जसअनुसार ६४४ मिटर मेनलाइन र पाँच हजार २३५ मिटर शाखा लाइनमा पाइप विस्तार गरिएको छ ।