
ललितपुर क्विन्स र कर्णाली यसशविसले पोखरामा जारी दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा विजयी यात्रा जारी राख्दा घरेलु टोली पोखरा निन्जाजले भने लगातार दुई खेलमा पराजित भएको छ ।
इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबारदेखि सुरु प्रतियोगिताको दोस्रो दिन शनिबार सम्पन्न पहिलो खेलमा गत वर्षको उपविजेता समेत रहेको ललितपुरले काठमाडौं स्पाइकर्सलाई सोझो ३–० को सेटमा र गत वर्षको विजेता कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित गर्दै अपराजित यात्रा जारी राखेका हुन् ।
शनिबारको जितसँगै ललितपुर ६ अंकसहित तालिकाको शीर्ष स्थान रहन सफल भएको छ ।
खेलको पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको ललितपुरले त्यसपछिको दुई सेट क्रमश २५–२३ र २५–२१ ले आफनो पक्षमा पार्दै छिमेकी टोली काठमाडांैलाई निरास पारेको थियो ।
शनिबारको दोस्रो खेलको पहिलो सेट २३–२५ ले आफ्नो पक्षमा पारेको लुम्बिनी त्यसपछिको लगातार तीन सेटमा पराजित हँुदा कर्णालीले आफ्नो विजयी यात्रा जारी राख्न सफल भयो ।
कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले आफनो पक्षमा पारेको थियो । लुम्बिनीका कप्तान अरुणा शाही तेस्रो सेटमा घाइते भएपछि मैदान बाहिरिएका कारण लुम्बिनीले लय गुमाउन पुगेको थियो ।
शनिबार सम्पन्न तेस्रो खेलमा पोखरालाई सोझो ३–० को सेटमा पराजित गर्दै जारी लिगमा दुई खेल खेलेको मधेशले पहिलो जित हात पारेको छ । खेलको पहिलो सेट २५–१९ ले आफनो पक्षमा पारेको मधेशले दोस्रो सेट समेत २५–१९ र तेस्रो सेट २५–२३ ले आफनो पक्षमा पादै घरेलु टोलीलाई निरास बनाएको थियो ।
लिगको तेस्रो दिन आईतबार दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाण्डौ र मधेश आमनेसामने हुदा दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्नेछन् ।