मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २१ शनिबार
  • Saturday, 06 September, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ भदौ २१ शनिबार ११:३२:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला भलिबलमा समर्पित प्रशिक्षक

नेपालका महिला भलिबल खेलाडीलाई संसारकै नम्बर एक खेलाडी बनाइछाड्छु

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २१ शनिबार ११:३२:oo

एक महिनाअघि हेटौँडामा भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बलियो विभागीय टोली एपिएफलाई हराएर न्यू डायमन्ड युथ क्लबले उपाधि उचाल्यो । आगामी भदौमा पोखरामा हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुने ६ टोलीमध्ये तीन टोलीका खेलाडी न्यू डायमन्डकै छन् । यी त केही उदाहरण मात्र भए, पछिल्लो समय यस्ता थुप्रै सफलता न्यू डायमन्डले पाउन थालेको छ । प्रतिस्पर्धाको मैदानमा उत्रेपछि हारे पनि जिते पनि उनको टोलीको पक्षमा माहोल बन्छ । अन्य टोलीको तुलनामा धेरै समर्थक देखिन्छन् । मैदानमै पुगेर आर्थिक सहयोगसमेत गर्छन् । 

न्यू डायमन्डलाई यो सबै सफलता दिलाउने श्रेय जान्छ, प्रशिक्षक कुमार राईलाई । करिब दुई दशकदेखि महिला भलिबल खेलाडी उत्पादनमा खटिएका राईले विभागीय टोलीलाई टक्कर दिएर उपाधि हासिल गर्न कसरी सफल भए ? राईको अथक लगाव र खेलाडीको मिहिनेत हेर्न हामी पुग्यौँ, चन्द्रागिरि–१३ स्थित उनको क्लबमा । ‘हामीले धेरै खेलमा खेल्नचाहिँ राम्रो खेल्ने, अलि हाईहुई गरेर प्रतिपक्षले खेल्न थालेपछि नर्भस भइहाल्ने र हार्ने हुन्थ्यो । तर, लगातार बलियो टोलीलाई दुईपटक सोझो सेटमा हराएपछि खेल्न सक्ने रहेछौँ भन्ने भयो,’ हाम्रो पहिलो जिज्ञासाको जवाफ दिँदै राईले भने, ‘आ–आफ्नो बिचमा प्रतिस्पर्धा हुने भयो । यसमा पटक्कै सजिलो हुँदैन । जित्नु छ । जितोस् भन्नु पनि छ । प्रतिद्वन्द्वीको हिसाब नै हुनुपर्छ । मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ भन्या जस्तो हुन्छ ।’ 

प्रशिक्षक राईलाई यहाँसम्म आइपुग्न सजिलो थिएन । थुप्रै अप्ठ्यारा पार गर्नुपर्‍यो । त्यसमा उनले सामाजिक, आर्थिक, मानसिकलगायत थुप्रै संकट झेले । ‘धेरै अप्ठ्यारा पार गरेर यहाँसम्म आइपुगियो । बल्ल खेलाडीले राम्रो रिजल्ट दिन थालेका छन् । खुसी लाग्छ,’ उनले भने, ‘गाह्रो अप्ठ्यारो धेरै भोगियो । उस्तै मान्छे भए सुसाइड गथ्र्याे होला ।’ उनै राईले जन्माएका धेरै खेलाडीले नै अहिले राष्ट्रिय टिममा ठाउँ बनाएका छन् । रमिला तन्डुकार, प्रतिभा माली, रेश्मा भण्डारी, प्रगति नाथ, सुमित्रा रेग्मी, सलिना श्रेष्ठजस्ता खेलाडी भलिबलप्रेमीले लिने नामहरू भएका छन् । 

यसरी सुरु भयो न्यू डायमन्डमा भलिबल 
०६२ सालतिर न्यू डायमन्ड एकेडेमी सुरु गर्दै पुरुष खेलाडीलाई एसियास्तरको धावक बनाउने सपना बुनेका राईले उचित नतिजा नआएपछि ०६४ सालमा महिला भलिबल खेलाडी उत्पादन गर्नतिर लागे । रमिला तन्डुकार, रेश्मा भण्डारी, बिना मोक्तान, सजनी श्रेष्ठ, लक्ष्मी कोइरालालगायत समावेश भएको टोली निर्माण भयो । स्थापनाको साल टोलीले कुनै पदक जित्न सकेन । ०६५ सालबाट भने टोलीले पदक हासिल गर्न थाल्यो । त्यसपछिका दिनमा भने क्लबले महिला भलिबलमा एकछत्र राज गरिरहेको छ । भलिबलको भोक भेट्न न्यू डायमन्डमा ०६४ सालदेखि साना नानीहरूलाई प्रशिक्षण गराउन थालेका राईले सफलता प्राप्त भएसँगै भलिबलप्रेमीको अपार साथ पाउन थाले । त्यो माया, सम्मान र सफलताका अगाडि हङकङ आइडीलगायत अन्य वैदेशिक अवसर उनका लागि झिनो भयो । दुई–चारजनाबाट सुरु गरेका उनले अचेल ५६ जनालाई होस्टेलमा राखेर प्रशिक्षण दिन्छन् । न्यू डायमन्ड एकेडेमी हुँदै न्यू डायमन्ड क्लबमा परिणत भएको यो क्बल गत जेठमा १८ वर्ष पूरा भएर १९ वर्ष लाग्यो । उमेर बढेसँगै क्लब नतिजादेखि सबै कुरामा परिपक्व हुँदै गएको छ । 

भलिबलमार्फत महिला सशक्तीकरण 
संखुवासभामा जन्मिएका राईले बुबा ब्रिटिस लाहुरे भए पनि कठिनताका साथ बाल्यकाल बिताए । करिब १० वर्ष हुँदा सदरमुकाम खाँदबारी जाँदा देखेको भकुन्डोले उनको जीवनमा उलटपुलट ल्याइदियो । त्यही भकुन्डोले उनको नसा–नसामा खेलप्रति रुचि जगायो । विद्यालयस्तरमा धेरै प्रतियोगिता खेलेका उनी एसएलसीसम्मको अध्ययन सकाएर उच्च शिक्षाका लागि ०४५ सालमा काठमाडौं छिरे । रत्न राज्यलक्ष्मी क्याम्पसमा आइए पढ्न थाले । सँगै राजनीति पनि गरे । पञ्चायती व्यवस्था फालेर बहुदल ल्याउनतिर पनि लागे । 

त्यही ताका जेबी टुहुरेले गाएको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर....’ गीत राईले खुब गाए । अंग्रेजीमा आइए सकाएर ०४७ बाट शिक्षण पेसा सुरु गरे । उनीलगायतको समूहले नै ०६२ सालबाट न्यू डायमन्ड एकेडेमी स्थापना गरे । पहिले सुनेको गीत, महिला सशक्तीकरणका कुरा फेरि उनको दिमागमा आउन थाले । ‘मैले छोटो समय विद्यार्थी राजनीति गरेको थिएँ । राजनीतिमा महिला सशक्तीकरणका कुरा गर्ने क्रममा जेबी टुहुरेको कति बस्छौ दासी भई... भन्ने गीत सुनेर ऊर्जा आउँथ्यो । त्यस्तो गीत गाएर हिँडेको मान्छे म,’ उनले भने, ‘नेताहरू भाषण गरेर मात्र हिँड्छन् । काम गर्दैनन् । मैले सोचेँ महिला सशक्तीकरण त सशक्तीकरण तर के मा सशक्त बनाउने ? त्यसपछि मचाहिँ महिला भलिबल सबैभन्दा शक्तिशाली बनाउँछु । नेपालका महिला भलिबल खेलाडीलाई संसारकै नम्बर एक खेलाडी बनाइछाड्छु भनेर लागेँ ।’ 

एकपछि अर्को सफलताका खुड्किलो उक्लिएको न्यू डायमन्ड धुले ग्राउन्ड हुँदै धुलो नउड्ने मैदानमा आएको छ । थुप्रै सफलता हासिल गरेको छ । यही क्लबका उत्पादन विभागका मुख्य खेलाडी भएका छन् । महत्वपूर्ण राष्ट्रिय खेलाडी भएका छन् । तर, उनको सपना यतिमै सीमित छैन । आर्थिक रूपमा विपन्न छोरीहरूलाई भलिबलमार्फत युरोपका क्लबमा पठाएर आत्मनिर्भर बनाउनु छ । त्यही ताका गाएको अर्को गीत ‘एक जुगमा एक दिन, एकचोटि आउँछ । उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ ...।’ गीतले भनेझैँ नेपाली महिला भलिबलमा उथलपुथल नै ल्याउनु छ, उलटपुलट नै गर्नु छ । ‘अबको लक्ष्य भनेको भलिबलको माध्यमबाट नानीहरू स्वतन्त्र रूपमा बाँच्न सकून् । लाखौँ रुपैयाँ कमाउन सकून् । आफ्नै कारमा हिँड्न सकून् । युरोपियन लिग खेल्न जान सकून्,’ उनले भने, ‘युरोपीयनस्तरको खेलाडी नजन्माएसम्म यो क्लब जिउँदो हुनुपर्छ । मेरो कार्यकालमा यो काम असफल भयो भने पनि यत्रा नानीहरू छन् । उनीहरूले गर्नेछन् । अहिले पनि ठुलै क्रान्ति न्यू डायमन्डले देशमा ल्याइराखेको छ । तर, अझै धेरै गर्न बाँकी छ ।’

आर्थिक समस्या 
आर्थिक रूपमा सक्षम बन्नका लागि पनि अब हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ काम गरिरहेको राईले सुनाए । ‘अब आर्थिक रूपमा सबल हुनका लागि टिम सशक्त बनाउने हो, ताकि घरेलु प्रतियोगितामा जित्न सकियोस् । मोफसलमा वर्षभर १० वटाजति प्रतियोगिता हुन्छ । त्यसैले जितमा अर्थ हारमा व्यर्थ छ । हामीले जितेमा दाताहरूले पत्याउँछन् । त्यो पनि हाम्रो क्लब चल्ने अर्को विकल्प हो,’ उनले भने । उनले हाल क्लबबाट खेल्ने १२ जनालाई मासिक १० हजार पारिश्रमिक दिन थालेका छन् । दुईजना सहायक प्रशिक्षकलाई २० हजार दिन थालेका छन् । यो अवस्थालाई लाखौँमा रूपान्तरण गर्ने दिन उनी पर्खिरहेका छन् । राई भन्छन्, ‘परिवारलाई साथ दिन पाइँदैन । आफैँले जन्माएको छोराछोरीलाई मात्रै आफ्नो सम्झिन सकिनँ । यस्तो काम सबैले गर्न जरुरी पनि छैन । मेरो यस्तै परिस्थिति सिर्जना भयो । तैपनि, घर–परिवारको मायाभन्दा समाज र देशको माया पाएँ । यही हो, मैले पाएको ।’