
आजदेखि सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दीपक थापालाई गृह मन्त्रालयले बिदाइ गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीलगायत अधिकारीले थापालाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवानिवृत्त हुन लागेका थापालाई बधाई दिँदै सेवानिवृत्तपछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको सेवाको लागि थप महत्त्वपूर्ण योगदान गर्ने उनको विश्वास थियो ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्तिसुव्यवस्था, अमनचयन कायम गर्नेजस्तो महत्त्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुन लागेका थापालाई बधाई दिँदै सेवानिवृत्त जीवन अझ बढी स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामनासमेत दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीजस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरुदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवं सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए । आफ्नो कार्यकालको अवधिमा संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरू पूर्णइमानदार रहँदै पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गर्दै उक्त अवधिमा नेपाल प्रहरीको समायानुकूल आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तराेन्नतिका लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गरेका छन्।
प्रहरी प्रधान कार्यालयले पनि थापाको आजै बिदाइ गर्दै छ । बिहीबारदेखि प्रहरीको नेतृत्व चन्द्रकुवेर खापुङले सम्हाल्नेछन् ।