
संखुवासभाको पाँचखपन नगरपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको पाँचखपन नगरपालिका– ४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई लोड गरेको एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनका अनुसार घरमा लोडसहितको बन्दुक राखेको भन्ने (हिजो भदौ १७ गते) राति विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घरकोठा खानतलासी गर्दा ओछ्यानमुनि लुकाइछिपाई राखेको अवस्थामा लोड भएको एक थान भरुवा बन्दुक फेला पारेको हो ।
अवैध भरुवा बन्दुकसहित पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतको भनाइ छ । श्रेष्ठ गाउँघरमा नै खेतीकिसानी गर्ने कृषक हुन् । कुन उद्देश्यले भरुवा बन्दुक लोड गरेर राखेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतको भनाइ छ ।