
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्दै उनले ठाउँठाउँमा स्याउका गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले भने, ‘जुम्लाबाट अफिम होइन स्याउ आउँछ, अनावश्यक चेकजाँच गरेर दुःख नदिइयोस्।’
उनले जुम्लाबाट आउने बाटो चार दिनदेखि बन्द गरेकाले बाटो निर्माणका लागि तदारुकता देखाउन भौतिक पूर्वाधारमन्त्रीसँग अनुरोध गरे । साथै केही महिना विदेशी स्याउको आयातलाई रोख्नसमेत सरकारसँग आग्रह गरे ।
शाहीले विदेशी स्याउको कारण जुम्लाको स्याउले बजार नपाएको भन्दै जुम्लाको स्याउ खरिद गर्न सांसद र आमसर्वसाधारणलाई आग्रह गरे । जुम्लाको स्याउ अर्गानिक र विषादीरहित भएकाले जुम्लाको स्याउ खान अनुरोध गरे ।