मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format ११:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रौलेश्वर बहुमुखी क्याम्पस बेलडाँडीको अध्यक्षका लागि भट्ट, जोशी र पण्डित चुनावी मैदानमा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format ११:१६:oo

कञ्चनपुरको एक क्याम्पसमा सञ्चालक समिति चयनका लागि  निर्वाचन हुन  लागेको छ। जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका– २ मा रहेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस सञ्चालक समिति चयनका लागि निर्वाचन हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनप्राप्त उक्त क्याम्पस सञ्चालक समिति चयनमा अभिभावक (क्याम्पसका सदस्य)बिच सहमति हुन नसकेपछि चुनावी प्रक्रियाबाट छनाेट गर्न लागेकोे क्याम्पस प्रशासनले जनाएको छ। 

क्याम्पसको चौथो सञ्चालक समिति चयनका लागि २१ भदौ (शनिबार) निर्वाचनको मिति चयन गरिएको छ। क्याम्पस प्रमुख प्रयागराज जोशीले त्रिविको विधानअनुरूप क्याम्पसबाट एकजना मात्रै छनाेट गरेर माथि पठाउनुपर्ने प्रावधानअनुरूप क्याम्पसमा पटकपटक सहमति हुन नसकेपछि अध्यक्षसहितका अन्य सदस्य छनाेटका लागि  चुनावी प्रक्रियामा जानुपरेको बताए। 

अध्यक्षका लागि ईश्वरीदत्त भट्ट, पवनकुमार जोशी र पुष्पकमल पण्डित चुनावी मैदानमा होमिएका छन् । यसअघि अध्यक्षसमेत रहेका भट्ट फेरि क्याम्पस हाँक्ने योजनाका साथ अघि बढेका छन् । स्वास्थ्यकर्मीसमेत रहेका पवनकुमार जोशीले बेलडाँडीको उच्च शिक्षा सुधारका लागि नेतृत्व लिन चाहेका छन् भने पुर्वविद्यार्थी एवं निवर्तमान बेलडाँडीका जनप्रतिनिधि पुष्पकमल पण्डितले पनि गाउँको उच्च शिक्षा सुधारका लागि नेतृत्व लिन चाहेका छन्। भट्ट, जोशी र पण्डितमध्ये निर्वाचितलाई अनुमोदनका लागि क्याम्पसले त्रिविलाई पत्राचार गरेपछि त्रिविकै सहमतिअनुरूप तिनै व्यक्ति क्याम्पस सञ्चालक समितिकोे अध्यक्ष बन्नेछन्।

पाँच खुला सदस्यका  लागि मदनसिंह खत्री, नरेन्द्रबहादुर रोकया, महेश विष्ट, सुकन्दराज सोती, चक्रबहादुर शाह, भुवनेश्वर पण्डित, वीरबहादुर विष्ट, वीरबहादुर बडुवाल, सञ्जीवविक्रक सिंह (धुव्र), वेदप्रकाश जोशी र महेशराज जोशीले उम्मेदवारी दर्ता  गराएका छन्। दुई महिला सदस्यका  लागि कमलादेवी कार्की, लोकमाया जेठारा, कलावती देवी बम, कृष्णा गिरी, दुई बुद्धिजीवी सदस्यका लागि वीरबहादुर सिंह (ठकुरी), रामबहादुर जैसी, जयलाल भट्ट, राधाकृष्ण  पाठकले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै, आदिवासी, जनजाति, दलित सदस्यतर्फ लक्ष्मण सुनार निर्विरोध निर्वाचित भएका छन्। सुनारको मात्रै एकल उम्मेदवारी परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएका हुन्। १८ वर्षअघि अर्यात् ०६४ सालमा  ग्रामीण भेगका विद्यार्थीलाई शिक्षा गाउँमै दिलाउने उद्देश्यले स्थापना भएको उक्त क्याम्पस सुधार वृद्धि विकासका लागि नेतृत्व लिन चाहेको बताइरहेका छन्। कुल १७२ मतदाता रहेको क्याम्पसमा यसपटक चुनावी महोल तातेको छ। अभिभावकले क्याम्पस सुधारका लागि अगुवा नेताहरू गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।