मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
२o८२ भदौ १२ बिहीबार १९:४८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १९:४८:oo

बारामा यस वर्ष वर्षेधान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ। लामो समयसम्म पर्याप्त वर्षा नभएर ढिलाइ भए पनि पछिल्ला दिनमा परेको निरन्तर वर्षाले रोपाइँ पूर्ण रूपमा सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।

जिल्लामा यस वर्ष कुल ४६ हजार २० हेक्टर जमिनमा धान रोप्ने लक्ष्य लिइएको थियो। प्रारम्भिक चरणमा खडेरीका कारण किसानहरू चिन्तित बनेका थिए। तर असारको अन्त्यतिर र साउनको प्रारम्भमा पर्याप्त वर्षा हुँदा रोपाइँ सुरु भई लक्ष्यअनुसार सबै खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए।

‘वर्षाको कारण रोपाइँ केही ढिलो भए पनि अन्ततः सबै क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। यस वर्ष पनि उत्पादन राम्रो हुने देखिन्छ,’ प्रमुख साहले बताए। उनका अनुसार यस वर्ष जिल्लाभर हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९, राधा–७ लगायतका उन्नत जातका धान लगाइएका छन्। यी जातका धान गर्मी सहन सक्ने, रोग प्रतिरोधात्मक र उत्पादन क्षमता उच्च हुने भएकाले किसानलाई फाइदा हुने अपेक्षा गरिएको छ।

गत आर्थिक वर्ष २०८०÷८१ मा पनि बाराका किसानले ४६ हजार २० हेक्टर क्षेत्रमा वर्षे धानखेती गरेका थिए। सोही क्रममा जिल्लाबाट एक लाख ९३ हजार २८४ मेट्रिक टन धान उत्पादन भएको थियो, जसको बजार मूल्य करिब ६ अर्ब २८ करोड ९ लाख ३२ हजार रुपैयाँबराबर रहेको थियो।

यस वर्ष समयमै रोपाइँ सम्पन्न हुनुका साथै रोपिएको धान राम्रोसँग बढेकाले उत्पादनमा अझ सुधार आउने सम्भावना छ। यसले किसानहरूको आम्दानी बढाउन र जिल्लाको खाद्य सुरक्षा सुदृढ गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

स्थानीय किसानहरूले पनि यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरेका छन्। कोल्हवी नगरपालिकाका किसान रामनारायण यादव भन्छन्, ‘पहिला वर्ष नभएर चिन्ता लागेको थियो। अहिले धान राम्रोसँग बढेको देख्दा ढुक्क छौं।’

कृषि ज्ञान केन्द्रले अब रोग कीराको प्रकोप रोक्न नियमित अनुगमन गर्ने, मलखाद व्यवस्थापनबारे किसानलाई परामर्श दिने र उत्पादित धानको बजार सुनिश्चितताका लागि पहल गर्ने जनाएको छ।