
बाराको अमलेखगन्जमा बाघको आक्रमणबाट बुधबार एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका– २२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका प्रहरीले जनाएको छ।
बुधबार बिहान स्कुटर लिएर घरबाट घाँस काट्न जंगल गएका शर्मा अबेरसम्म नफर्किएपछि परिवारले खोजी थालेका थिए। खोजतलासको क्रममा स्कुटर र काटिएको घाँस फेला परे पनि शर्माको अवस्था पत्ता नलागेपछि परिवारले प्रहरीमा लिखित जानकारी दिएका थिए।
सोही आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा आधाभार जंगलमै शर्माले प्रयोग गर्ने चप्पल र भुइँमा रगत लतपतिएकोजस्तो देखिएको प्रहरीले जनाएको छ। आधाभार ब्यारेकबाट खटिएको नेपाली सेना, प्रहरी तथा वडा नम्बर २१ र २२ का वडाध्यक्षलगायतको संयुक्त टोलीले पुनः खोजी गर्दा सडकबाट करिब तीन सय मिटर पूर्वतर्फ जंगलभित्र बाघको आक्रमणबाट मृत अवस्थामा शर्माको शव फेला परेको हो
शव घोप्टो अवस्थामा फेला परेको र मृतकको टाउको नरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
यसअघि गत असारमा पनि अमलेखगन्जस्थित जंगलमै बाघको आक्रमणबाट एक गोठालाको मृत्यु भएको थियो। मकवानपुरको मनहरी घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका– २१ अमलेखगन्ज बस्दै आएका वीरबहादुर थिङको बाख्रा चराउने कामदारका रूपमा कार्यरत ५५ वर्षीय चन्द्रबहादुर भुलनको बाघको आक्रमणमा परेर ज्यान गएको थियो।
बाख्रा चराउन चक्री जंगल गएका भुलन घर नफर्किएपछि साँझ आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीयवासीको टोलीले खोजतलास गर्ने क्रममा भुलनको शव दक्षिणकाली सामुदायिक वनको खोल्सामा बाघले खाएको अवस्थामा फेला परेको थियो।
स्थानीयहरूका अनुसार सो क्षेत्रमा केही समयदेखि बाघको गतिविधि बढ्दो अवस्थामा छ। सुरक्षाका दृष्टिले सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।