
नेपाल ओलम्पिक कमिटी विवादको बाछिटा नेपाल कुस्ती संघमा पनि देखिएको छ । कुस्ती संघको प्रतिनिधित्व गर्दै समिम मियाँ अन्सारी खेलकुद मन्त्रालयले गठन गरेको नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिका सदस्य तथा प्रवक्ता छन् । तर, निर्वाचित कुस्ती संघका महासचिव खगेन्द्रबहादुर बस्नेतले एनओसी विवादमा मुछिएका पूर्ववरिष्ठ उपाध्यक्ष अन्सारीसँग आफूहरूको कुनै सम्बन्ध नरहेको बताए ।
बस्नेतले साधारणसभाबाट निर्वाचित प्रकाशकुमार कुसारी नेतृत्वको संघले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको दाबी गरेका छन् । ‘वर्तमान समयमा नेपाल कुस्ती संघबाट केही अनधिकृत तथा कुनै सरोकार नभएका व्यक्तिले संघको नाम लिँँदै गतिविधि गरिरहेको पाएका छौँ । यसमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ,’ महासचिव बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ४ चैत ०८० मा नेपाल कुस्ती संघको चुनावी साधारणसभा भएको थियो । राखेपका प्रतिनिधिकै उपस्थितिमा सम्पन्न चुनावी साधारणसभाबाट प्रकाशकुमार कुसारी अध्यक्ष बनेका थिए । कुसारी अध्यक्षयमा चयन हुनुअघि कुस्ती संघमा विवाद थियो ।
सर्वोच्च अदालतले ३ चैत ०७७ मा अध्यक्ष राज मोहम्मद मियाँ अन्सारी र वरिष्ठ उपाध्यक्ष समिम मियाँ अन्सारी रहेको संघलाई खारेज गरेको थियो । सर्वोच्चले राज मोहम्मद अध्यक्ष रहेको संघ खारेज गरेपछि निर्वाचनको बाटो खुल्यो । तर, अन्सारी पक्ष सर्वोच्चको आदेश र राखेपले गराएको निर्वाचन मान्न तयार भएन । उनीहरूले आफूहरू नै अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघ भएको दाबी गरिरहेका छन् ।
तदर्थ समितिका प्रवक्तासमेत रहेका अन्सारीले सन् २०१० देखि नै राज मोहम्मद अध्यक्ष रहेको संघले अन्तर्राष्ट्रिय निकायमा प्रतिनिधित्व गर्दै आइरहेको जनाएका छन् । ‘सन् २०१० देखि कुस्तीका विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तथा खेलकुद प्रतियोगितामा हामी नै नेपालबाट प्रतिनिधित्वका रूपमा सहभागी भइरहेका छौँ,’ अन्सारीले नयाँ पत्रिकासँग भने, ‘हाम्रो संघलाई विश्व तथा एसियाली कुस्ती महासंघबाट मान्यताप्राप्त छ ।’
राखेप र एनओसीबाट कुसारी नै आधिकारिक
राखेप र जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले कुसारीलाई आधिकारिक व्यक्ति मानेका छन् । खेलकुदका दुईवटै प्रमुख निकायको वेबसाइटमा उनलाई मान्यता दिइएको पाइन्छ । संघका महासचिव बस्नेतले यसअघिको विवाद न्यायालयले टुंगो लगाइसकेको र सरकारी तथा अन्तर्राष्ट्रिय मान्यतासमेत कुसारीको नेतृत्वलाई सुम्पिसकेको उल्लेख गरेका छन् । ‘राखेप र एनओसीले कुसारी नेतृत्व रहेको संघलाई आधिकारिक मानेका छन् । केही अनधिकृत व्यक्ति नेपाल कुस्ती संघका नाममा अगाडि बढिरहेका छन् । ती व्यक्तिसँग हाम्रो कुनै सम्बन्ध छैन,’ बस्नेतले भनेका छन्, ‘नेपाल कुस्ती संघको नाम लिएर अन्य कुनै व्यक्तिविशेषले गरेको काममा हाम्रो पूर्ण असहमति छ । हाल तदर्थ ओलम्पिक कमिटीको प्रवक्ताका रूपमा समिम मियाँ अन्सारीको नाम कुस्तीसँग जोडिएका कारण निजसँग कुनै सम्बन्ध नरहेको जानकारी गराउँदछौँ ।’
दुई वर्षअघि निर्वाचित कुस्ती संघका महासचिव बस्नेतले वर्तमान विवाद सुल्झाउन आफूहरू खेलकुदका तीनवटै प्रमुख निकायसँग छलफल गर्न तयार भएको बताएका छन् । खेलकुद मन्त्रालय, राखेप तथा नेपाल ओलम्पिक कमिटीसँग कुस्ती संघको विवादबारे छलफल गरी निष्कर्ष निकाल्नुपर्ने उनले बताए । ‘कुस्ती संघले वर्तमान नेपाली खेलकुदको गतिविधि र उठेको समस्याको विषयमा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय मिली छलफलमार्फत निष्कर्षमा पुग्नुपर्ने धारणा राखेको छ,’ उनले भने, ‘विवाद यथावतै रहेमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसहित सहभागितामा समस्या आउन सक्छ ।’
गत १३ पुसमा श्रेष्ठ विधान संशोधन गर्दै तेस्रो कार्यकाल एनओसीको अध्यक्ष भएपछि नेपालको खेल क्षेत्रमै नयाँ विवाद सिर्जना भइरहेको छ । सरकारले यस कमिटीलाई मान्यता दिएको छैन । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (एसिए)ले श्रेष्ठलाई नै मान्यता दिइसकेका छन् । नेपालको कानुन नमान्ने श्रेष्ठ नेतृत्वको एनओसीलाई मन्त्रालयले मान्यता दिएको छैन । खेलकुदमन्त्री तेजुलाल चौधरीले २६ साउनमा दुई कार्यकाल एनओसीकै अध्यक्ष र महासचिव रहिसकेका ध्रुवबहादुर प्रधानको संयोजकत्वमा तदर्थ समिति बनाएका थिए ।
निर्वाचित संघमा १५ सदस्य
दुई वर्षअघिको चुनावी साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसमेत रहेका कुसारीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको थियो । उपाध्यक्षमा मुकेश शाह, सूर्यान्सकुमार चौधरी र निर्मल सिग्देल रहेका छन् । महासचिवमा कुस्तीका पूर्वमुख्य प्रशिक्षक बस्नेत, उपमहासचिवमा साजन अधिकारी र सचिवमा सरोजकुमार कटुवाल चयन भएका थिए ।
कोषाध्यक्षमा विपुल पौडेल चयन भए । यसैगरी, सदस्यमा सुदीप केसी, अनिल न्यौपाने, उपेन्द्र श्रेष्ठ, ऐटनकुमार मल्ल, लक्ष्मी उराव र विक्रमसागर पोखरेल छन् । साधारणसभामा केन्द्र, चार प्रदेश र २२ जिल्लाका ५२ प्रतिनिधिको उपस्थिति थियो । साधारणसभाको उद्घाटन राखेपका तत्कालीन उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव टंकलाल घिसिङले संयुक्त रूपमा गरेका थिए ।