मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १३:४२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

संघदेखि प्रदेश सरकारको दायित्वमा आएको बेलौरी सडकको बेहाल !

सात बर्षअघि तत्तकालिन भौतिक मन्त्रीले उद्घाटन गरेकोे सडक अझै बनेन् 

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १३:४२:oo

मुलुक संघीयतामा प्रवेश गरेसँगै केन्द्रीय सरकारले स्थानीय र प्रदेश सरकारलाई अधिकारसँगै जिम्मेवारी पनि दियो । तर, दिएको जिम्मेवारी पूरा गर्नुको साटो प्रदेश र स्थानीय सरकार उल्टोउल्टो बाटोमा डुलिरहेको कञ्चनपुरको एक ताजा उदाहरण सडक योजना  छ । 

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक दशकदेखि निर्माण हुन सकेको छैन । ठेक्का भएको १० वर्षसम्म पनि बेलौरी सडक  कालोपत्रे हुन नसक्दा दक्षिणका जनता मारमा  परेका छन् । ०७३ सालमा संघ सरकारबाट ठेक्का भएको सडक प्रदेश सरकारले अधुरै उद्घाटन गरेर जग हँसायो । सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन  भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले २१ मंसिर ०७६ मा उक्त सडक उद्घाटन  गरे । 

तामझामका साथ अलपत्र परेको सडक कालोपत्रेका लागि रिबन काटेर नाटक मञ्चन गरेका मन्त्रीले ठेकेदारलाई न काम लगाउन सके न ठेकेदारले सम्झौता अवधिमा काम गरेको छ । 
उक्त  सडक संघले प्रदेशको जिम्मा लगाएपछि बेलौरीको वैशाखादेखि शुक्लाफाँटाकोे कलुवापुरसम्म सडक टुक्य्राएर  ठेक्का लगाउने काम गरे पनि सडक अझै बन्न सकेन । बरु संघीय सरकारमातहत रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पाँच किलोमिटर सडक कालोपत्रे गर्न दिएको छैन । जिल्लाबाट अहिले संघमा एक मन्त्री तीन केन्द्रीय सासंद, प्रदेशमा दुई मन्त्रीसहित ११ प्रदेश सांसद भए पनि प्रदेश र संघीय सरकारका निकायबिचको यो तहको अड्चनकोे  गाँठो फुकाउन सकेका छैनन् । 

सन्तोषी थेगिम जेभीले उक्त सडकअन्तर्गत बन्साहदेखि उत्तर दोमिल्लासम्म ११.५ किलोमिटर कालोपत्रेका लागि वैशाख मसान्त ०७७ सम्म गरिसक्नुपर्ने प्रदेश सरकारसँग सम्झैता भएको थियो । २० साउन ०७७ मा पहिलोपटक, २० वैशाखमा ०८१ मा दोस्रोपटक र त्यसपछि २० चैत ०८२ मा तेस्रोपटक म्याद थप भएको छ । तैपनि ठेकेदारले हालसम्म ४० प्रतिशत मात्रै काम गरेकोे छ । उक्त सडक कालोपत्रेको जिम्मा पाएको सन्तोषी थेगिम जेभीले ११ करोड ८६ लाखमा ठेक्का पाए पनि कछुवाको गतिमा बनाइरहेकोे छ । तर, हालसम्म पाँच करोड २४ लाख भुक्तानी लिइसकेको पूर्वाधार कार्यालयले जनाएको छ । 

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडक स्तरोन्नतिको साटो दिनप्रतिदिन बेहाल भइरहेको छ । मुलुक राजतन्त्रदेखि गणतान्त्रिक युगसम्म आइपुग्दा पनि सडककोे स्तरवृद्धि हुनुको साटो दिनप्रतिदिन बेहाल भइरहेको छ  । 

देशमा तीन सरकार छन्, संघ सरकारबाट प्रदेश सरकारमा आएको उक्त सडक दुईपटक कालोपत्रेका  लागि उद्घाटन गरिए पनि अझै निर्माण कार्य पूरा भएको छैन । सडकमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यसअघि अवरोध गरेको सडक मात्रै होइन, अवरोध नभएकोे कलुवापुरदेखि बन्साहसम्मको सडक पनि उस्तै छ । 

निकुञ्ज क्षेत्रमा पर्ने कालागौडीदेखि चान्देबसम्म झन्डै पाँच किलोमिटर सडक निर्माण नहुँदा ठुला–ठुला खाल्डाखुडीले यात्रु नागरिकमाथि अन्याय भएको छ । एकातिर खाल्डाखुडी अर्कातिर जंगल भएकाले जोखिम यात्रा गर्न बाध्य भएका छन् । हिउँदमा  धुलाम्मे बर्खामा हिलाम्मे सडक रोपाइँकै खेतजस्तै हुने गरेको छ  । पटक–पटक आन्दोलन गर्दा समेत  उक्त सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले निर्माण व्यवसायीलाई ताकेतादेखि निकुञ्जलाई काम गर्न वातावरणका  लागि सहज बनाइदिन आग्रह  गरेको जनाएको छ । 

पूर्वाधार विकास कार्यालयका इन्जिनियर हेमराज भट्टले निकुञ्जबाट ‘प्रारम्भिक वातावरणीय परीक्षण (आइई) गरेर मात्रै निकुञ्जले सडक कालोपत्र गर्न दिने भनेपछि काम अगाडि बढ्न सकेको बताए । उनका  अनुसार उक्त क्षेत्रको  सडकको ठेक्का नै तत्कालका लागि रद्द गरिएको छ, आइई भएपछि मात्रै पुनः ठेक्का सम्झौता गरी काम बढाइएको छ ।  बन्साहाबाट कलुवापुर र कलुवापुरबाट बेलडाँडी दोमिल्लासम्मको सडक कालोपत्रको कार्य र नाली निर्माणको कार्य भने अगाडि बढ्ने थियो । 

सम्झौताअनुसार निर्माण व्यवसायीले निर्धारित समयभित्रै सडक कालोपत्रको कार्य गर्न नसकेपछि स्थानीय बासिन्दाले सडक नै अवरुद्ध गरी पटक–पटक आन्दोलन गर्दै आएका छन् । कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुन सकेको छैन । सोही सडकको ढक्का चान्देउबाट कालागौँडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ । बेलौरीका स्थानीय रमेश कार्कीले सडक कालोपत्रे नहुँदा जिल्ला मुकाम आउन  जान समस्या भएको बताए । ‘सडक कालोपत्र अगाडि बढाउनुपर्‍याे, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्छ,’ उनले भने, ‘सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ ।’

चान्देवका स्थानीय रनी चौधरीले ठुलाठुला खाल्डाखुल्डीले सवारी दुर्घटना निम्त्याइरहेको बताए । उनले यात्रुसहित विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेको धुलोले समस्या सिर्जना गरी बिरामी पर्न थालेको बताए । धुलोमाटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनकाे अनुभव छ । बन्साहका अर्का स्थानीय एवं क्रान्तिकारी माओवादीका नेता राम महरा (चिन्तक)ले ११. ५ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि मन्त्री, सांसदसहितका जनप्रतिनिधिले जनतामा भ्रम छर्नका लागि रिबन काटेर बन्दै बनेको सडक उद्घाटन गरेर उदांगाे चरित्र देखाएको बताए । ‘सम्झौताअनुसार एक किलोमिटर पनि सडक कालोपत्रे भएको छैन,’ उनले भने, ‘बरु कालोपत्रेका लागि पहिलो चरणको लेयर सबै भत्किसकेको छ ।’ सडक कालोपत्रे हुन नसक्दा दक्षिणी क्षेत्रका जनताको दैनिक जनजीवन, जिल्ला मुकामदेखि अन्यन्त्र जान, आर्थिक सामाजिक विविध क्षेत्रमा प्रभाव परिरहेकोे छ ।