
छायानाथ रारा नगरपालिकामा वडा अध्यक्षहरूले बुधबार लगाएको ताला दुई दिन बितिसक्दा पनि अझै खुलेको छैन । छायानाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले १७औँ बजेट सभामा कुनै पनि एजेन्डा छलफल नगराई एकलौटी सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आर्थिक वर्ष ०८२/०८३ को १७औँ बजेट सभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि ऐजेन्डा प्रस्तुत र छलफल नगराई छलकपट गरेको आरोप लगाउँदै वडाध्यक्षहरूले बुधबार नगरपालिकामा तालाबन्दी गरेका हुन् ।
१४ वडाध्यक्षमध्ये तीनजना जिल्ला बाहिर भएका र नगरमा रहेका ११ जना वडाध्यक्षहरूले मेयरले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि, ०७४ को परिच्छेद ५ को दफा ३ बमोजिम गरिने कार्यलाई व्यवस्था नगरी उक्त कार्यविधिविपरीत मेयर भामले एजेन्डा प्रस्तुत र छलफल नगराएको भन्दै अनिश्तितकालका लागि नगरपालिका तालाबन्दी गरेको ११ जना वडाध्यक्षहरूले निर्णय गरेका छन् ।
छायानाथ रारा नगरपालिका-२ नम्बर वडा कार्यालयमा जम्मा भएका ११ जना वडाध्यक्षहरूले नगरपालिकाबाट अन्य पालिकामा सरुवा भई जाने वडा सचिवहरूले वडा कार्यालयको सरुवा आर्थिक तथा भौतिक गतिविधि बरबुजावत नगराई मिलोमतोमा उनीहरूलाई रमानापत्र दिएकाले आर्थिक वर्ष हुँदा सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले यसको जिम्मेवारी स्वयं नगरपालिका हुनुपर्ने र वडाको दैनिक कामकाज सञ्चालनका लागि तत्काल करार कर्मचारीको व्यवस्था गर्नुपर्ने वडा नम्बर २ का अध्यक्ष परेकराज चौलागाईले बताए ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तह र वडाहरूका लागि तोकेको दरवन्दीबाहेकका अन्य करारमा रहेका कर्मचारीहरुलाई आर्थिक वर्ष ०८२/०८३ देखि म्याद थप नगर्न दिएको निर्देशनअनुसार नगरपालिकाले त्यस्ता करार कर्मचारीहरुलाई म्याद थप नगरिदिएको रिसमा वडाध्यक्षहरूले यस्तो निर्णय गरेका र आफूले कार्यविधि विपरीत कुनै खाले त्यस्ता निर्णय नगरेको मेयर भामले बताए । ऐन नियम र कार्यविधिमै रहेर करार कर्मचारी हटाइएको छ । फालिएका करार कर्मचारी हरुको कुनैहालतमा म्याद थप नहुने उनको भनाइ छ ।
उनले भने, ‘मैले कुनै सभा र निर्णयहरू जालझेल गरेको छैन उहाँहरु (वडा अध्यक्ष) आफैले सभाहरूका निर्णयहरुमा दस्तखत गर्नु भएको छ । सभामा आफै निर्णय गर्ने बाहिर आफै विरोध गर्ने के स्वार्थले यस्तो गरिरहनु भएको छ मलाइ त अचम्म लागेको छ ।’
सभा सकिएको हप्ता दिनपछि जिल्लामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत जिल्लाबाहिर भएको बेला निराधारा आरोप लगाएर ताला लगाउनु बेमौषमी बाजा भएको र सभामा गरेका र पास गरेका निर्णयमा गरेका दस्तखत र सभामा सहभागी भत्ता बुझेको भरपाइ हेरे सबै छर्लङ्ग हुने पनि मेयर भामले बताए ।
छायानाथ रारा नगरपालिकाले पनि यहीँ १५ साउनमा सूचना प्रकाशित गर्दै करार तथा ज्यालादारी कर्मचारीह को म्याद थप नगरि हटाएको थियो ।