
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को सदस्यमा नियुक्त भएका छन् । उनलाई निजी क्षेत्रको प्रतिनिधिका रूपमा सेबोनको सञ्चालक समिति सदस्यमा नियुक्ति गरिएको हो ।
नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि नेपाल धितोपत्र बोर्ड (सेबोन)को सदस्य हुने व्यवस्था छ । सोही व्यवस्थाअन्तर्गत ढकाललाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रूपमा मनोनयन गरी पठाएका हुन् । नवनियुक्त सदस्य ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।
सेबोन सदस्य नियुक्त भएपश्चात् ढकालले पुँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबिचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताए ।
उनले बोर्डको सदयका हैसियतले पुँजीबजारको विकासका लागि आफू प्रयत्नशील रहने बताए । यस्तै, सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षण, बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफूले सक्दो योगदान दिने नवनियुक्त सदस्य ढकालले बताए ।