मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका म्याग्दी
Invalid date format ११:oo:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

डाँडाखेत सबस्टेसनको पूर्वाधार निर्माण सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
Invalid date format ११:oo:oo

म्याग्दीको मालिका गाउँपालिका- ७, डाँडाखेतमा विद्युत् सबस्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत-राहुघाट प्रसारणलाइन आयोजनामार्फत सबस्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । 

आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सबस्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । 

‘५१ रोपनीमा निर्माण भएको डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले सबस्टेसन निर्माण हुन लागेको हो ।’  

डाँडाखेतदेखि रघुगंगा गाउँपालिका- ३, राहुघाटको अम्बाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारणलाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा रु. तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी कात्तिक २९ गतेसम्म थप भएको छ । 

‘समग्रमा ७९.१७ प्रतिशत भौतिक प्रगति भएको छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘राहुघाटमा कमजोर भूबनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादका कारणले आयोजना निर्माणको समय बढेको हो ।’

१३२ केभी क्षमताको डबल सर्किट प्रसारणलाइनको हालसम्म ५९ वटा टावरको जग राखिएकोमा ४५ वटा टावरको काम पूरा भएको छ । चारवटाबाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । प्रसारणलाइन र सबस्टेसनको ८५ प्रतिशत उपकरण आयात भइसकेको छ । 

२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउन्डेसन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सबस्टेसन बनाउन ६ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । 

निर्माण कम्पनीले पछिल्लोपटक केही दिनअघि भारतबाट करिब एक सयजना जनशक्ति ल्याएको छ । कुल रु. चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु. एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु. तीन अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी छ । 

रघुगंगा गाउँपालिका- ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिका- १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारणलाइनको टावर निर्माण स्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई रु. एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेबापत रु. चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको छ ।  

म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मंगले र २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेका छन् । 

कुल ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बताएको चिमखोला-राहुघाट-मंगले र संयुक्त ऊर्जाको ठुलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारणलाइनमा विद्युत् आपूर्ति गराउन थालेका हुन् ।