
पानीमा डुबेर तथा खोलाले बगाएर झापामा मृत्यु हुनेको संख्या बर्सेनि बढिरहेको तथ्यांकले देखाएको छ । झापा बर्खायाममा डुबानमा पर्ने जिल्ला हो । बर्खामा साना तथा ठुला नदीमा बाढी आउने गरेको छ । विभिन्न ठाउँमा पानी जमेका खाडलमा डुबेर नागरिकले ज्यान गुमाइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार झापामा पछिल्लो तीन वर्षमा ११२ जनाको पानीमा डुबेर तथा खोलाले बगाएर मृत्यु भएको छ । यसमा सबैभन्दा धेरै पुरुष छन् । पानीमा डुबेर र खोलाले बगाएर तीन वर्षमा ९८ पुरुष र १४ महिलाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए । तथ्यांकमा पानीमा डुबेर र बगेर ज्यान गुमाउने बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । यो तथ्यांकलाई हेर्दा झापामा महिनामा सरदर तीनजनाले ज्यान गुमाएको देखिन्छ ।
आर्थिक वर्ष ०७९/८० मा ३१ जनाले ज्यान गुमाएको प्रवक्ता खड्काले बताए । जसमा २८ पुरुष र तीन महिला छन् । आव ०८०/८१ मा ४४ जनाले ज्यान गुमाएका छन् । जसमा ४० पुरुष र चार महिला छन् । आव ०८१/८२ मा ३५ जनाले ज्यान गुमाएका छन् । जसमा २९ पुरुष र ६ महिला छन् ।
चालू आर्थिक वर्षको २६ दिनमै सोमबारसम्म दुईजनाको डुबेर र खोलाले बगाएर मृत्यु भएको तथ्यांकले देखाएको छ । पानीमा लापरबाही गर्दा, कोही दाउरा निकाल्ने लोभमा तथा चेतनाको कमीले पनि पानीमा डुबेर र खोलाले बगाएर मृत्युका घटना बढेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । ‘नेपाल विपत्को जोखिम भएको देश हो । झापामा पनि बर्खायाममा डुबान पर्ने, नदीहरूमा पानी बढ्ने मानिसलाई बगाउने गरेको छ । खासगरी चेतनाको अभाव र पानीसँग लापरबाही गर्दा मानिसको डुबेर वा खोलाले बगाएर मृत्यु हुने संख्या बढेको देखिन्छ,’ उनले भने, ‘खासगरी बालबालिका पौडी खेल्न नजानेर मृत्यु भएको पाइन्छ । पौडी खेल्न नजान्ने, तर खोला तथा पोखरीहरूमा पौडी खेल्न पस्ने कारण पनि ज्यान गुमाइरहेका छन् । यो लापरवाही हो । केहीले चाहिँ विपत्मा नै परेर ज्यान गुमाएका छन् ।’
रेडक्रस सोसाइटी झापाले बाढी प्रभावित तथा तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली पनि सञ्चालन गरेको छ । ठुलो पानी आउने, नदीको बहाब बढ्ने तथा जोखिम हुने क्षेत्रमा करिब पाँच घण्टाअघि नै फोनमा सन्देश पठाउने गरेको रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले बताए । यति हुँदाहुँदै पनि नागरिकले लापरबाही गर्दा ज्यान गुमाइरहेको उनी बताउँछन् ।
‘रेडक्रस सोसाइटीले झापामा बाढीको पूर्वसूचना प्रणाली पनि सञ्चालनमा ल्याएको छ । मौसमको पूर्वानुमान, बाढी नदी बढ्दै जाँदा घर छाड्न आग्रह गर्नेदेखि बाढी कम भएपछि घर फर्कन आग्रह गर्ने सन्देशसम्म पनि पठाएका हुन्छौँ । पूर्वसूचना प्रणाली हुँदाहुँदै बेवास्ता गर्ने प्रवृत्ति छ । जनचेतनाको अभाव र लापरबाहीका कारण नागरिकले ज्यान गुमाइरहेको पाइन्छ,’ ढकालले भने, ‘नदीमा बाढी आएको समयमा अटेर गरेर दाउरा निकाल्ने, माछा मार्ने कारण पनि ज्यान गुमाइरहेका छन् । घरछेउका खाल्डाखुल्डीमा पानी जमेको अवस्थामा केटाकेटीको ख्याल नगर्दा पनि डुबेर ज्यान गइरहेको छ । यसतर्फ ध्यान दिएर स्थानीय सरकारले पनि जनचेतनाको काम गर्नुपर्ने देखिन्छ ।’