
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको मागअनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबन्दासम्म विरोध गरिरहने बताए । त्यति मात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद विना लामालाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको मागबमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताइन् । उनले आफूहरूले संसद् बैठक बहिष्कार गर्ने र बहिष्कार गर्ने दिनको भत्ता पनि नलिने बताइन् । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।