Skip This
११ घण्टापछि खुल्यो मध्यपहाडी लोकमार्गको जयराम–हलेँसी सडकखण्ड
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025
२o८२ श्रावण २६ सोमबार २o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

११ घण्टापछि खुल्यो मध्यपहाडी लोकमार्गको जयराम–हलेँसी सडकखण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २६ सोमबार २o:५३:oo

वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेँसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ। हलेँसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा आज बिहान करिब आठ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका सात बजेबाट पुनः सञ्चालनमा ल्याइएको हो। 

अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएर बिचसडकमै अलपत्र परेका यातायातका साधन तथा यात्रुहरू आ–आफ्नो गन्तव्यतर्फ लागेको हलेँसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिएका छन्। जयराम–हलेँसी सडक अवरूद्ध हुँदा ‘बोलबम’का लागि हलेँसी आउने तीर्थालुसमेत बिचबाटोमै अलपत्र परेका थिए। 

करिब सय मिटर जति सडक पुर्ने गरी झरेको पहिरो हलेँसी तुवाचुङ नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा सञ्चालनमा ल्याइएको नगरप्रमुख विमला राईले जानकारी दिइन्। ‘करिब ११ घण्टाको प्रयासपछि यातायात सञ्चालन हुने बनाइएको छ,’ उनले भनिन्, ‘जयराम–हलेँसी सडकखण्डमा अब निर्वाध रूपमा यातायात सञ्चालन हुन्छ । अवरुद्ध सडक सडक खुलाउन सहयोग गर्ने सुरक्षाकर्मी तथा स्थानीयवासीलाई नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्दछु।’

च्यास्मिटारस्थित प्रहरी चौकीनजिकैको सडकभन्दा करिब सय मिटरमाथिबाट ठुलो ढुंगा तथा बोटबिरुवासहितको पहिरो झर्दा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेँसी सडकखण्ड दिनभर पूर्ण रूपमा अवरुद्ध भएको थियो। 

निक्कै व्यस्त रहने जयराम–हलेँसी सडक पहिरोका कारण अवरुद्ध हुँदा त्रिधार्मिकस्थल हलेँसीमा लागेको बोलबम मेला भर्न आउने सर्वसाधारण तथा भक्तजनलाई सबैभन्दा बढी समस्या भएको स्थानीयले बताएका छन्।