
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन् ।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आइतबार काठमाडौंमा आयोजित सर्वपक्षीय छलफलमा उनले यस्तो बताएका हुन्। नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्न सके उक्त क्षेत्रको समग्र विकासमा टेवा पुग्ने उनको भनाइ छ ।
‘नेपालगन्ज पर्यटन, कृषिलगायतका क्षेत्रका लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान दिन सक्छ। यहाँहरूको यो पहल र प्रयासप्रति महासंघ ऐक्यबद्धता जाहेर गर्दछ,’ उनले भने ।
नेपालगन्ज–दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताए। यस्तै, अध्यक्ष ढकालले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा यो एजेन्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने बताए।
सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ–आफ्तो तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठुलो लगानी भइसकेको अवस्थामा निर्माण भएका विमानस्थलहरूको प्रभावकारी सञ्चालन आवश्यक रहेकोसमेत बताए ।
‘नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जसहित लुम्बिनीजस्ता गन्तव्यहरूमा भारतीय पर्यटकका लागि महत्त्वपूर्ण प्रवेश हुन सक्छ। सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ) का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ,’ उनले भने।
उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठुलो लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने बताए।
यस्तै, उनले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढी कानुनहरू संसोधन गरेको उल्लेख गरे।
देश विकासका लागि आन्तरिक र बाह्य पुँजी आवश्यक रहे पनि आन्तरिक पुँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम सुरु गरी सकेको जानकारी दिए। कार्यक्रममा पूर्वमन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता थियो।