मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 13 August, 2025
Invalid date format १८:५७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घाइतेहरू सिराहा कारागार फर्किँदा पुनः झडप दोहोरिने जोखिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

जिल्ला सदरमुकाम सिरहास्थित कारागारमा २१ दिनअघि कैदीबन्दीको दुई समूहबीच भएको झडपमा १३ जना घाइते भएपछि कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको छ। पछिल्लो झडपपछि कारागार शान्त देखिए पनि घाइते भएकाहरु उपचारपछि फर्किए पुनः झडप दोहोरिने जोखिम बढेको छ।

कारागार प्रशासनका अनुसार चौकीदार विजयकुमार महतो र कैलाश ठाकुर समूहबीच दोहोरो झडप भएको थियो। कारागारको आन्तरिक प्रशासन संचालन गर्ने ‘चौकीदार’ चयन, आर्थिक लेनदेन र अवैध असुलीको विषयलाई लिएर विवाद चुलिएपछि झडप भएको हो। कारागारको आन्तरिक स्रोतका अनुसार चौकीदार बन्ने प्रतिस्पर्धा र त्यससँग सम्बन्धित आर्थिक चलखेलको कारणले ४ साउनको झडप भएको हो। चौकीदारले गर्दै आएको गलत कामको विषयमा कारागार प्रशासनलाई कैयौं पटक मौखिक गुनासो गरे पनि सुनुवाइ नभएपछि झडप भएको बताइएको छ।

कर्तव्य ज्यान मुद्दामा सिरहा कारागारमा आठ वर्ष कैद सजाय भुक्तान गरिरहेका बेला तीन वर्षअघि १२ चैत २०७९ मा भएको झडपमा मकवानपुरको भिमफेदी कारागार सरुवा गरिएका महतो र ठाकुर केही महिनापछि सँगसँगै राजविराज करागार सरुवा गरिएका थिए। त्यसपछि २०८० सालमा सिरहा आएलगत्तै चौकीदार राजकिशोर राउतलाई फालेर ठाकुर चौकीदार बनेको एक वर्षपछि २०८१ मा महतो चौकीदार बनेका थिए। त्यसपछि मनमुटाव बढेसँगै बाँके कारागार पुर्याइएका ठाकुरले त्यहीँबाट फोनमार्फत आफ्नो घरमा मासिक दुई लाख रुपैयाँ नपठाए महतोलाई चौकीदारी चलाउन नदिने भन्दै धम्क्याउने गरेको ज्यान मार्ने उद्योग मुद्दा अन्तर्गत कैद सजाय भुक्तान गरी छुटेका सखुवानन्करकट्टी गाउँपालिका ५ का हरेराम यादवले बताए।

लाखौंको कारोबार, चौकीदारमा होडबाजी
उनका अनुसार सतहमा महतो र ठाकुर पक्षका कैदीबन्दीहरुबीच टक्कर देखिएको भएपनि कारागारमा २०७९ को झडपपछि सरुवा गरी अन्य जिल्लास्थित कारागारमा कैद सजय भुक्तान गरिरहेका मो.सकिल, खड्गराज दाहाल, आजाद भनिने चन्द्रशेखर यादव, नख्खु कारागारमा रहेका ललित यादव, झुम्का कारागारका इन्दल यादवलगायत पाँच समूह आन्तरिक प्रशासनमा हावी छ।

स्रोतका अनुसार कैदीबन्दीहरूले पाउने मासिक भत्ता, दशैं भत्ता र जाडो भत्तामा समेत चौकीदार र उनका पक्षका नाइकेहरूले अवैध चलखेल गरी लाखौं रुपैयाँ असुल्ने गरेका छन्। चौकीदार महतोले आफ्ना समर्थकहरूमार्फत कैदीबन्दीहरूबाट अवैध असुली गर्दै आएको आरोप छ। झडपपछि घाइते कैदीहरूले कारागार प्रशासनले ३५ लाख रुपैयाँ घुस लिएर झडपको वातावरण बनाएको गम्भिर आरोप लगाएका थिए। बाँके कारागारमा रहेका ठाकुरले कारागारमा आफ्ना प्रतिनिधिमार्फत् उक्साहट र तनाव सिर्जना गर्ने क्रम जारी राखेको स्रोतले जनाएको छ। 

स्रोतका अनुसार प्रति कैदीबन्दी दैनिक सात सय ग्राम चामल र ८० रुपैयाँ भत्तावापत् १ साउनमा महतोले कारागार प्रशासनबाट छ लाख ७५ हजार पाँच सय रुपैयाँ भुक्तानी लिएका थिए। तर, कारागारभित्रको पसलको सवा छ लाख र बाहिरको पसलको एक लाख ६५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन्। कैदीबन्दीहरुबाट उठाएको र कारागार प्रशासनबाट भुक्तानी लिएको रकमबाट महतोले धनुषाबाट श्रीमती बोलाएर आठ लाख रुपैयाँ पठाएको स्रोतको दावी छ।

सुधार नभए पुनः झडपको जोखिम
४ साउनमा घाइते भएका महतोसहित उनका पक्षका शिवकुमार राय ‘शिवा’, मकेश्वर महतो, जयप्रकाश चौधरी ‘शिवम्’, बैजु दास, सत्यनारायण कारक, दिपेन्द्रकुमार यादव र ठाकुर पक्षका दिपक ठाकुर, अञ्जाली कुशवाहा ‘जंगली’, रिपेन्द्र झा ‘छोटु’, सन्तोषकुमार सिंह, जितन साह, विश्वमित्र महतोको काठमाडौंमा उपचार गरिएको कारागार प्रशासनले जनाएको छ।

सिरहा कारागारका प्रमुख सुवोधकुमार साहले अहिले घाइते सबैलाई उपचारपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा राखिएको बताए। तर, राजनीतिक चलखेलको कारणले उनीहरू पुनः सिरहा कारागार फर्काइए स्थिति जटिल बन्न सक्ने स्रोतले जनाएको छ। कारागार प्रमुख महतोले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि चौकीदार र नाइके सहनाइके चयनको प्रकृया चलिरहेको बताए। ३ साउनमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षा अधिकारीहरूको टोलीले कारागारको अनुगमन र प्रत्येक कोठामा खानतलासी गरेको भोलिपल्ट नै झडप भएको हो।

सिरहा कारागारमा चौकीदारको सुविधा उपभोग गरिरहेका कैदीले सुविधाको दुरुपयोग गर्दै कैदीबन्दीसँग रकम उठाउने आरोप लगाउँदै १२ चैत २०७९ र २०७८ माघमा सिरहा कारागारका तीनजना कैदीलाई सरुवाका लागि रमानासहित निकाल्न खोजिँदा कैदीबन्दीहरुबीच झडप भएको थियो।

कार्यान्वयन भएन प्रतिवेदन
गत २४ कात्तिकमा कारागारभित्र आन्तरिक प्रशासनको मिलेमतोमा प्रतिबन्धित बस्तुहरुको आपूर्तिसहित कारागारको पसलमा बढी रकम असुल्ने गरेको सार्वजनिक भएपछि स्थानीय प्रशासनले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले १० माघमा जिल्ला सुरक्षा समितिलाई प्रतिवेदन बुझाएको थियो। 

त्यतिबेला जिल्ला प्रशासन कार्यालय सिरहाले कारागारको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी छानबिन प्रतिवेदन सार्वजनिक गर्ने/नगर्ने विषयमा कारागार व्यवस्थापन विभागको निर्देशनबमोजिम हुने गरी उक्त प्रतिवेदन जानकारी, कार्यान्वयन, अध्ययन, निर्देशनका लागि विभाग पठाएको जनाएको थियो। प्रतिवेदनमा कारागारका केही कैदीबन्दीहरु इमान्दार नरहेको औंल्याएकाले उनीहरुको चालचलनका आधारमा आन्तरिक प्रशासनको जिम्मेबारी दिन नहुने गरी निर्देशन दिएको भएपनि कारागार कार्यालयले पालना गरेको छैन।