मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार १९:o२:oo
Read Time : > 1 मिनेट
समाचार

नेपालमा नसर्ने रोग बढ्दै, तर नियन्त्रण र रोकथाम प्रयास कमजोर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १९:o२:oo

नेपालमा नसर्ने रोग बढ्दै गए पनि यसको नियन्त्रण र रोकथाम प्रयास कमजोर रहेको विज्ञहरूले बताएका छन्। नेपाल एनसिडी अलायन्सले  बुधबार  आयोजना गरेको कार्यक्रममा डा. मनिता प्याकुरेलले नेपालमा नसर्ने रोगको दर बढ्दै गइरहेको र जसका कारण समाज, परिवार र राज्यलाई नै आर्थिक भार थपिएको बताइन्।

‘नसर्ने रोगको तथ्यांक हेर्दा नेपाल पनि जोखिम र भयावहको अवस्थामा छ, नसर्ने रोगहरूबाट ग्रसित हुनेमा देशलाई चाहिने दक्ष जनशक्ति गुमाइरहेको छ,’ उनले भनिन्, ‘नसर्ने रोगका कारण मानिसहरू स्वस्थ र पूरा जीवन बाँच्न सकेका छैनन्।’

उनका अनुसार नसर्ने रोगको भार र त्यसको तथ्यांक हेर्दा नेपाल पनि ग्रसित मुलुकमा गनिन्छ। सार्क मुलुकमा नसर्ने रोगको अवस्था हेर्दा नेपाल तेस्रो स्थानमा छ। पहिलो सूचीमा भारत र दोस्रो सूचीमा म्यानमार छ। डा. प्याकुरेलले नसर्ने रोगको तथ्यांक बढ्नुमा सुर्तीजन्य पदार्थको बढी भूमिका रहेकोले यसको सेवन, बिक्री-वितरणबारे ध्यान दिनुपर्ने बताइन्।

‘अहिले भेप र चुरोट सेवनमा युवाको डरलाग्दो उपस्थिति देखिन्छ, अझ चिया पसल र होटेलहरूमा महिला र पुरुषहरू चिया र चुरोट पिउन पुग्छन्, नसर्ने रोग सल्काउने सबैभन्दा मुख्य कारक सुर्तीजन्य पदार्थ सेवन पनि हो,’ उनले भनिन, ‘अहिले सहरिया जीवनशैली गाउँ-गाउँ पुगेको छ, शारीरिक अभ्यास नगर्ने र  स्वास्थ्यमा ध्यान नदिनाले नसर्ने रोग तीव्र गतिमा बढ्दै छ।’

कार्यक्रममा एनसिडिएका जेनेरल सेक्रेटरी किशोरकुमार प्रधानांगले नेपालमा २५ लाख मानिस मधुमेह र सोही अनुपातमा उच्च रक्तचापबाट ग्रसित भएको बताए। कार्यक्रममा प्रेस काउन्सिलका सदस्य पदमराज जोशी, एनसिडीका सदस्य तथा स्वास्थ्य पत्रकार सरोज ढुंगेल, रामप्रसाद न्यौपाने र अतुल मिश्रले स्वास्थ्य पत्रकारिताले नसर्ने रोग नियन्त्रणमा खेलेको भूमिकाबारे प्रस्तुति दिए।

मृत्युको प्रमुख कारण नसर्ने रोग बन्दै
विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार नेपालमा सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेको थियो। तर, अहिले नसर्ने रोग बढेर ७० प्रतिशतभन्दा माथि र सर्ने रोग घटेर ३० प्रतिशतभन्दा कम छ। त्यस्तै, सन् २०१० मा कूल मृत्युमध्ये ५१ प्रतिशत मृत्यु नसर्ने रोगले हुने गरेकोमा सन् २०१४ मा ६० प्रतिशत र २०१६ मा ६६ प्रतिशतमा पुगेको थियो । सन् २०१९ मा नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत पुगेको ग्लोबल बर्डेन अफ डिजिज अध्ययनले देखाएको छ।